कलाकारको अमेरिका प्रेम !

हिम्मतवाली नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले यसै साता अमेरिकामा छोरीलाई जन्म दिइन् । सामान्यतया छोराछोरी जन्माउदा त्यति चर्चा र चासोको बिषय नहुनुपर्ने हो जति रेखाको भयो।

छोरी जन्मिनु अघि नै आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबाट राष्ट्रवादी हुननसकेको भन्ने झटारो  खेपेकी नायिका थापाले त्यसको प्रतिकार स्वरुप राजेन्द्र लिङ्देनलाई नै अमेरिका मै भएकी आफ्नी छोरी पहिले स्वदेश फर्काउ भन्न भ्याइन् । त्यसो त विदेशमा बच्चा जन्माउने नायिका थापा मात्रै पहिलो वा अन्तिम कलाकार होइनन् ।

अमेरिकामा जन्मिएको व्यक्ति जन्मसिद्ध त्यहाँको नागरिक हुने व्यवस्था छ। त्यसैले पनि अमेरिका पुगेर बच्चा जन्माउनेक्रम पछिल्लो समय बढ्दो छ। यसभन्दा अघि पनि केही अभिनेत्री र गायिकाले अमेरिकामा गएर बच्चालाई जन्म दिइसकेका छन्।बच्चालाई जन्म दिइसकेपछि कोही नेपाल फर्केका छन् भने कोही उतै छन्।

केही वर्ष अगाडी नायिका निशा अधिकारीले पनि अमेरिका सन्तान जन्माएकी थिइन्। २०७४ को असारमा क्रिकेटर शरद भेषावकरसँग बिहे गरेकी उनी आमा बन्ने भएपछि अमेरिका उडिन र उतै छोरा यूभानलाई जन्म दिइन् ।

त्यसैगरी चलचित्र ‘पर्खी बसेँ’ की नायिका युना उप्रेतीले पनि अमेरिकामै सन्तान जन्माएकी थिइन्। अमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बिहे गरेर अमेरिका पुगेकी युनाले उतै छोरी पाइन् । हाल उनी अमेरिका मै छिन् ।

त्यस्तै गायिका निशा सुनारले पनि आफ्नो सन्तानलाई अमेरिकामा जन्म दिइन् । मोडल तथा नृत्य निर्देशक शंकर बिसीसँग बिहे गरेपछि निशा बच्चा जन्माउन अमेरिका पुगेकि हुन् । निशा हाल अमेरिकामै बस्छिन भने पति शंकर पनि अमेरिका आउजाउ गर्छन् ।

उता कुनै समयकि चर्चित नायिका जल शाहले पनि अमेरिकामा सन्तानलाई जन्म दिइन् । उनको छोरी अहिले ठुली भैसकेकी छन्। त्यो समयको सफल नायिका शाहले ठूलदाइ, बुहारी, आशीर्वाद, नेपाली बाबु लगायतका चलचित्रमा अभिनय गरेकी थिइन।साहित्यकार प्रेमा शाहकि छोरी जल शाहले एनआरएन शरदकुमार रिमालसँग बिहे गरेर उतै घर किनेकी छन् ।

यहि सुचिमा नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे पनि पर्दछन् ।२०६६ सालमा वैवाहिक बन्धनमा बाँधिएको यो जोडी पनि हाल अमेरिका मै बस्छन् ।शंकर- ऋचाको जोडिले अमेरिकामा एक छोरा र एक छोरीलाई जन्म दिए भने नेपाल मै जन्मेको अर्को सन्तान पनि हाल अमेरिका नै लगिसकेका छन्।

त्यसैगरी ‘सुनचाँदी’ चलचित्रको हामीलाई पनि मायाले हेर पार्वती ……र चलचित्र आगोको दमकल बोलाइदेउ…….जस्ता गित र  ‘अग्निपरीक्षा’, ‘सिन्दुर पोते’, ‘यो मायाको सागर’ जस्ता हिट चलचित्रकि नायिका सांरगा श्रेष्ठले पनि अमेरिकामै बच्चालाई जन्म दिएकी थिइन्।

नायिका अरुणिमा लम्सालले पनि अमेरिका मै छोरी जन्माइन भने नायिका मेलिना मानन्धर र नायक मुकेश ढकाल पनि अमेरिकामै छन् । यी मात्रै होइन हास्य कलाकार नारायण त्रीपाठी, नायक सरोज खनाल, हास्य कलाकार राजाराम पौडेल, नायिका करिष्मा मानन्धर पनि अमेरिका बसेर नेपाल फर्केका छन् भने कतिपय नायिका र कलाकार अझै उतै छन् । नायिका पूजा चन्द, रन्जना शर्मा, गायक प्रेमराजा महत, यम बराल, नायक राजबल्लभ कोइराला, निर्देशक श्याम भट्टराई, निर्देशक शुरेश दर्पण पनि उतै छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय