कांग्रेस नेतृत्वमा मात्रै जनताको सुनौलो भविष्य सम्भव छ- कांग्रेस नेता भण्डारी

काठमाडौ,११ फागुन। नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य हरिबोल भण्डारीले पछिल्लो परिदृष्यमा देखिएका केही नयाँ भनिने पार्टी र नयाँ जस्तो देखिएका नेताहरुबाट नेपाली जनताको सुनौलो भविष्य प्राय असम्भव रहेको बताएका छन् ।

पार्टीको महासमिति बैठकमा आफ्ना धारणा राख्दै नेता भण्डारीले नेपाली जनताको सुनौलो भविस्य नेपाली कांग्रेसको नेतृत्वमा मात्रै संभव भएको समेत जिकिर गरेका छन् ।’अब जनताको अवस्था परिर्वतनका लागि नेपाली कांग्रेसलेनै नेतृत्व लिनु पर्दछ’ उनले भने-‘अफवाह र प्रतिशोधले भरिपूर्ण राजनीतिको पछाडी बहकिएका जनतालाई वास्तविक परिस्थितिबारे कांग्रेसले बुझाउँनै पर्छ ।’

उनले जनता बहकिनुको जिम्मेवारी केही प्रतिशत कांग्रेसको पनि होला भन्दै त्यसलाई स्विकार गर्नै पर्ने पनि बताए।’देशभर नयाँहरुको लहर र लहड छ, कांग्रेसजनले त्यो भावलाई पनि समात्नुपर्ने हुन्छ’-भण्डारीले आफ्नो भनाइमा उल्लेख गरेका छन् ।

बाध्यता र परिस्थितिले बाहिरिएका नेपालीले मातृभूमि फर्किँदा पुनःभिसा लिनुपर्ने कुरा दु:खद भएको पनि उनले बताएका छन् ।नेता भण्डारीले विदेशबाट मातृभूमि फर्किँदा पुनः भिसा लिनुपर्ने कुराले प्रवासमा रहेका नेपालीहरुमा बेखुसी रहेको समेत बताए।

‘हामी उज्याला दिनहरुको ब्यग्र प्रतिक्षामा छौं’-भण्डारीले महासमिति बैठकमा राखेको धारणा जस्ताको तस्तै :

आदरणीय सभापतिज्यू, पदाधिकारीज्यू, केन्द्रीय सदस्यज्यूहरु, गर्विलो इतिहास, आशाले भरिएको वर्तमान र सुनौलो भविश्यको कल्पनासहित देशभरबाट पाल्नुभएका महासमिति सदस्यहरुमा जय नेपालको न्यानो अभिवादन ।

हामीलाई हाम्रा अग्रजहरुले गर्विलो इतिहास बोकेको पार्टी छोडेर जानुभएको छ । संस्थापक नेताहरुले प्रजातन्त्र, नागरिक अधिकार र देशको समृद्धिका लागि स्थापना गर्नुभएको नेपाली कांग्रेसको बिरुवालाई हुकाई बढाई जीवन्त हरियो राख्न हरेक अप्ठ्यारा प्रहरलाई सामना गर्ने तल्लो तहदेखी माथिल्लो नेतृत्वमा रहेर काम गरिरहनुभएका नेताहरुप्रति म उच्च सम्मान व्यक्त गर्दछु ।

नेपाली कांग्रेस र नेपाली जनताको सुनौलो भविश्यको कल्पनासहित वर्तमानमा नेतृत्व हाँकिरहनु भएका नेता साथीहरु यतिखेर हामी नयाँ कालखण्डमा उभिएका छौं । विश्व इतिहास हेर्ने र पढ्ने हो भने व्यवस्था परिर्वतन र सेवा प्रवाहमा सिलसिलाबद्ध फेरबदल देखिएको छ । यसर्थ अब हामी हाम्रा अभिभावकको अनुभवबाट सिक्दै वहाँहरुको अभिभावकीय भूमिका सहित भविष्यका लागि हामी आफैंले काम गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
बिगत र बर्तमानमा पार्टी शिर्ष नेताहरुबाट देश र जनताका लागि जे जति योगदान भयो त्यसप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं, वहाँहरुप्रति हाम्रो उच्च सम्मान छ । हामी एउटा सत्यको नजिक छौं, अब औंसीको रातमा कांग्रेसको चाँदीको घेरा भनेकै युवा पुस्ता हो । यसलाई नघुमाई भन्ने हो भने अब व्यवस्था परिर्वतनपछिको अवस्था परिर्वतनका लागि चाँदीको घेरा भनेकै युवा नेतृत्व हो । यसलाई स्विकार गर्दै तपाई हामी अब नयाँ अभियानमा होमिनुपर्ने बेला आएको छ ।

पछिल्लो परिदृष्यमा देखिएका केही नयाँ भनिने पार्टी र नयाँ जस्तो देखिएका नेताहरुबाट नेपाली जनताको सुनौलो भविष्य प्राय असम्भव छ । सम्भव छ त नेपाली कांग्रेसको नेतृत्वमा । अब जनताको अवस्था परिर्वतनका लागि नेपाली कांग्रेसलेनै नेतृत्व लिनै पर्दछ । अफवाह र प्रतिशोधले भरिपूर्ण राजनीतिको पछाडी बहकिएका जनतालाई वास्तविक परिस्थितिबारे बुझाउँनै पर्छ । जनता बहकिनुको जिम्मेवारी केही प्रतिशत हाम्रो पनि होला । स्विकार गर्नै पर्छ, देशभर नयाँहरुको लहर र लहड छ, हामी कांग्रेसजनले त्यो भावलाई पनि समात्नुपर्ने हुन्छ ।

सँगै म यहाँ जोडन चाहन्छु, पार्टी महामन्त्रीहरुले पेश गर्नुभएको प्रतिवेदन पढदा बढ्ता रक्षात्मक देखिन्छ । हामीले के बुझ्न जरुरी छ भने हामी बजारमा देखिएका भलबाढी होइनौं, उदाहरणका लागि २०६४ चुनावपछिको परिणाम नसोचेको आएको थियो । हामी यस्ता उदाहरणबाट सचेत हुनै पर्दछ तर बिचलित भने हुन जरुरी छैन । नेपाली कांग्रेस अबिरल बगिरहने नदि हो । हामी खहरे भलको गडगडाहटबाट आतिनु हुन्न । सिंगो देशको समृद्धिको जिम्मा नेपाली कांग्रेसकै काँधमा छ भन्ने जिम्मेवारी बोध हुनु पर्दछ । ति स–साना खहरे खोलाहरु आएर मिसिने भनेकै अबिरल बगिरहने इन्द्रवतीमै हो ।
इतिहास बनिसक्नु भएका र वर्तमान नेतृत्वमा रहनुभएका नेताहरुप्रति नेपाली जनताले ठूलो सम्मान व्यक्त गरेकै छन् । व्यवस्था परिर्वतनका खातिर नेताहरुले गर्नुभएको त्यागको सम्मानपनि भएकै छ । अब त्यो सम्मानलाई थप उचो बनाउन पार्टीभित्रको शिर्ष नेतृत्वमा रहनु भएकाहरुले मैले माथि भने जस्तै त्यो चाँदीको घेरालाई समयमै चिन्न अब ढिला भने गर्नु हुन्न ।

मैले यहाँ थोरै बिदेशमा रहेका समस्या र पार्टीको शुभेच्छुक संस्थाका बारेमा केही बोल्नै पर्दछ । बिभिन्न बाध्यता र परिस्थितिका कारण बिदेशमा रहेका नेपालीहरुलाई हामीले देशको समृद्धिसँग जोडनु पर्ने आवश्यकता छ । त्यसका लागि अहिले जारी भएको नागरिकताले यथोचित सम्बोधन गरेको देखिन्न । बाध्यता र परिस्थितिले बाहिरिएका हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरुले पाउने नागरिकतामा मातृभूमि फर्किँदा पुनः भिसा लिनुपर्ने भएकाले प्रवासमा रहेका नेपालीहरु बेखुसी रहेको जानकारी समेत गराउँदछु । साथै नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिको अधिवेशन समयमै नहुँदा हाम्रा थुप्रै साथीहरु बिभाजित मानसिकतामा हुनुहुन्छ, यसको सम्बोधन पनि पार्टीले समयमै गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।

बाँकी आम लोकतन्त्रवादीले चिन्ता गरे जस्तै, उर्जाशिल, परिर्वतनको सम्वाहक र भविष्यको कर्णधार कांग्रेस बन्नै पर्छ भन्ने भनाईमा जोड दिँदै, आफ्ना भनाई यहीँ अन्त्य गर्दछु ।

धन्यवाद, जय नेपाल !

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय