साम्बा एक्लैले गरिन् पाँच गोल, इराकमाथि नेपालको फराकिलो जीत

काठमाडौं, १० फागुन । नेपालले वेस्ट एसिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जीत हासिल गरेको छ । नेपालले इराकमाथि ५-० गोलअन्तरको जित हासिल गरेको हो

नेपालको जीतमा पाँचै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरिन् । पहिलो हाफमा नै चार गोल गरेकी साम्बाले दोस्रो हाफमा थप एक गोल गरेकी हुन् । साम्बाले योसँगै ४४ अन्तर्राष्ट्रिय खेल खेल्दा आफ्नो गोल संख्या पनि ५० गोल पुर्‍याएकी छन् ।

खेलको १४औं मिनेटमा रेखा पौडेलले डिफेन्सिभ हाफबाट दिएको पासलाई साम्बाले सुन्दर रनिङका साथ सुन्दर फिनिस गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यसको दुई मिनेटमै साम्बाले दोस्रो गोल  गरिन् । १६औं मिनेटमा साम्बाले डिफेन्डरको खुट्टाबाट बल खोस्दै नेपालको अग्रता दोब्बर पारिन् ।

३७औं मिनेटमा साम्बाले ह्याट्रिक पूरा गर्दै नेपालको अग्रता पनि तेब्बर पारिन् । पूजा रानाले गरेको क्रसमा उनले हेडर मार्फत गोल गरेकी थिइन् । ४४औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई पहिलो हाफमा नेपाललाई ४-० ले अगाडि राखिन् ।

दोस्रो हाफको ७९औं मिनेटमा प्रिति राइको थ्रु पासमा वान टच गोल गर्दै नेपाललाई ५-० ले अगाडि बढाइन् । इन्जुरी समयको अन्त्यमा साम्बाले हेडर गरेको भएपनि थोरै माथिबाट बाहिरिँदा उनी डबल ह्याट्रिकबाट भने चुकिन् ।

समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको नेपालले अब अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ । नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् ।  शीर्ष २ ले सेमिफाइनल खेल्ने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय