डा.शशांक कोइराला भन्छन्-‘गठबन्धन र धर्म निरपेक्षता दुबै चाहिँदैन’

 


काठमाडौं,१० फागुन। नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसका लागि ‘गठबन्धन’ र ‘धर्म निरपेक्षता’ दुबै काम नलागेको बताएका छन् ।

ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकमा आफ्नो धारणा राख्दै डा.कोइरालाले यस्तो बताएका हुन् ।’धर्म निरपेक्ष मुलुक बनाएर गल्ती भयो’ उनले भने,-‘अब कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्छ।’

डा.कोइरालाले धर्मलाई निरपेक्ष वा सापेक्ष भनेर भनिराख्न नपर्ने भन्दै धर्म स्वतन्त्र हुने र नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रताको पक्षमा आफुलाई उभ्याउनुपर्नेमा समेत जोड दिए।

डा.कोइरालाले आफ्नो पिता बीपी कोइरालाको भनाइलाई समेत स्मरण गर्दै महासमिति बैठक हलमा सुनाए- ‘मेरा आमा नित्य पुजा गर्नुहुन्थ्यो । मेरो पिता, बीपी कोइराला त्यै कुरालाई उसको( आमाको)अधिकार हो, उसलाई जे गर्न मन लाग्छ त्यही गर्नुपर्छ भन्नुहुन्थ्यो।’

डा.कोइरालाले अहिले कांग्रेसले धर्म निरपेक्ष भनेर निर्णय गर्नु गलत भएको भन्दै अब सच्याउनुपर्ने बताए। उनले भने- ‘कांग्रेसको त्यो निर्णय दुर्भाग्य थियो। र गलत थियो।’

यसैगरी डा.कोइरालाले चुनाव अगागडि गठबन्धन गर्न नहुने कुरामा समेत जोड दिए। ‘नेपाली कांग्रेस कमजोर छैन, कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिन’ उनले भने-‘बरु गठबन्धन पार्टी भित्रकै आफ्ना साथीहरूसँग गर्नुहोस्।’

उनले चुनाव अगाडी गठबन्धन आवस्यक नभएपनी चुनाव पछाडि सरकार बनाउँदा भने आवश्यक परेमा गठबन्धन हुने बताए । ‘चुनाव भन्दा पहिले गठबन्धन गर्नु दुर्भाग्य हो । गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउदाखेरी गर्नुपर्छ’-उनले भने ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय