कांग्रेस सुनसरीका सभापति भन्छन् : ‘बर्तमान गठबन्धन कायम राखौं,एमालेलाई कमजोर बनाऔं’
काठमाडौं,९ फागुन । नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले महामन्त्री गगन थापाको प्रस्तावलाई ठाडो चुनौती दिएका छन् ।
इनरुवा नगरपालिकाका मेयर समेत रहेका भण्डारीले भैरहेको बर्तमान सत्ता गठबन्धनलाई धरापमा पारेर कांग्रेसले नयाँ प्रस्ताव पास गर्न नहुने समेत बताए। गत सोमबारदेखि ललितपुरको गोदावरीमा जारी कांग्रेसको महासमिति बैठकमा बोल्दै जिल्ला सभापति भण्डारीले कांग्रेसले पास गर्ने प्रस्तावले सत्ता गठबन्धनमा कुनैपनि समस्या आउन नहुनेमा जोड दिए।
सभापति भण्डारीले महासमिति बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई बिच्काउन नहुने बरु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भने जतिसक्दो कमजोर बनाउनुतिर लाग्नुपर्ने पनि बताए। ‘एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै बिच्काउनु हुन्न’ उनले भने-‘गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्न वा हुन्छ भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ ।’
उनले कोशी प्रदेशको नामको बिषयमा पनि सहज र स्पस्ट हुन आवश्यक भएको बताए। त्यसैगरी जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुख्ने भएकोले धेरै कुरा जिल्लामा पनि छलफल हुनुपर्ने उनको भनाइ थियो।