स्पिनर हावी बन्दा नेपाल ४० ओभरभित्रै अलआउट
काठमाडौं, ९ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नामिबियासँग खेलिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई १६९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले ६४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै कुशल मल्लले ३६ रन बनाउँदा भीम सार्कीले २६ रनको योगदान दिए ।

अर्का ओपनर कुशल भुर्तेल १८ रनमा पेभेलियन फर्किँदा करण केसीले १२, दीपेन्द्रसिंह ऐरीले ६, सोमपाल कामीले ४ रन बनाए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनालले खाता नै खोल्न सकेनन् ।
नामिबियाका बर्नार्ड स्कोल्जले १० ओभरमा २ मेडनसहित ३१ रन दिएर ४ विकेट लिए । त्यस्तै जान निकोल लफ्टी इटनले ६.१ ओभरमा ३४ रन दिएर ४ विकेट लिए । कप्तान जेरार्ड इरासमस र ज्याक ब्रासेलले १-१ विकेट लिए ।
नामिबिया केहीबेरमा जवाफी ब्याटिङमा उत्रने छ ।