पोखरामा आजदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’
पोखरा, ९ फागुन । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक प्रोफेसनल गल्फ सङ्घका महासचिव दीपक आचार्यले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख ४० हजार पुरस्कार पाउनेछन् ।
उपविजेताले रु ९६ हजार, तृतीय हुनेले रु ७२ हजार तथा चौथो र पाँचौ स्थान प्राप्त गर्नेले क्रमशः रु ५९ हजार र रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट २१ भित्र पर्न सफल अन्य गल्फरले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको साविक विजेता शुक्रबहादुर राई र सुवास तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेकाले यसपटक सहभागी नहुने महासचिव आचार्यले बताए । गत महिना धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेर राई भारतीय गल्फ टुरमा सहभागी हुन भारत गएका छन् ।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने र ५४ होलको हुने बताइएको छ । महासचिव आचार्यका अनुसार ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ २१ शीर्ष व्यावसायिक खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्ने मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने सङ्घले जनाएको छ ।