गगनले पेश गरे गठबन्धन नगरी एक्लै चुनाव लड्ने प्रस्ताव (प्रस्ताव सहित)
काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जारी महासमिति बैठकमा आगामी निर्वाचनअघि कसैसँग पनि गठबन्धन नगरी चुनाव लड्नुपर्ने प्रस्ताव पेश गरेका छन् । उनको प्रस्ताव महासमिति बैठकमा पेश हुनुअगावै सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएको भएपनि त्यसका बाबजुद पनि उनले उक्त प्रस्ताव महासमितिमा पेश गरेका हुन् ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको अबस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसंग तालमेल गर्ने कुरा स्वभाविक हुने उनले उल्लेख गरेका छन् । तर, निर्वाचन पूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने उनले उद्घोष गरेका छन् ।

‘कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्यहरु, सुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्नेछौं,’– उनले भने ।
कांग्रेसका नेता तथा कार्यकर्तालाई चुनाव चिन्ह रुखमा नै मत हाल्न पाउने व्यवस्था सुनिश्चित हुने उनको दाबी छ । कांग्रेसकै संगठनलाई थप सिर्जनशील बनाएर एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रुपमा स्थापित गराउनेतर्फ लाग्नुपर्ने उनले प्रस्तावमा उल्लेख गरेका छन् ।
हेर्नुस् उनको सांगठनिक प्रस्ताव:
NC_सांगठनिक-प्रस्ताव2080_Final-Fagun-7GK