‘हिन्दु राष्ट्र’ पक्षधरको अभियानमा पुर्व महामन्त्री डा.शशांक र तारानाथ रानाभाटको पनि हस्ताक्षर

काठमाडौं ८ फागुन। नेपाली कांग्रेसको महासमिति बैठक स्थल गोदावरीमा चलाइएको अभियान ‘सनातन हिन्दु राष्ट्र’को पक्षमा  नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।

स्व.वीपी कोइराला पुत्र डा.शशांकले बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको उक्त अभियानले चलाएको हस्ताक्षर अभियानमा हस्ताक्षर गरि समर्थन जनाएका हुन् । डा.कोइराला समेत यो अभियानमा हस्ताक्षर गर्ने नेताको संख्या ३१ पुगेको छ। पार्टी केन्द्रिय समिति बैठकमा यो संख्या २२ थियो।

यसैगरी पुर्व महामन्त्री एवं पुर्व सभामुख तारानाथ रानाभाटले पनि यो अभियानमा हस्ताक्षर गरेका छन् । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि हस्ताक्षर गरेका छन् । सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले बैठक स्थलमा हस्ताक्षर अभियान चलाएपछि अहिलेसम्म ४१६ जनाले हस्ताक्षर गरेका छन् । यो अभियानमा सोचेजस्तो हस्ताक्षर चाहिँ नभएको कांग्रेस नेताहरु बताउँछन् ।

प्रचारप्रसार संयोजक मीन बिश्वकर्माका अनुसार जसले जति हस्ताक्षर गरेपनि महासमिति बैठकमा ‘हिन्दु राष्ट्र’को कुनै एजेन्डामा छलफल नहुने बताए। ‘यो केही साथीहरूको अभियान हो,पार्टीको अभियान होइन’-उनले भने-‘अभियान चलाउन र आफ्ना कुरा राख्न पाइन्छ तर,पार्टीले नै मुद्दा  बोक्छ भनेर प्रचार गर्न पाइदैन ।कांग्रेस कुनै धार्मिक पार्टी वा क्षेत्रीय र जातीय पार्टी होइन।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय