कांग्रेस महासमिति बैठक :विवादित जिल्लाका सबै प्रतिनिधि सहभागी

तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसको गोदावरीमा जारी महासमिति बैठकमा चुनिएका र विवादित सबै सदस्यलाई बन्दसत्रमा प्रवेश गराइएको छ । महासमिति बैठकमा विवादित जिल्लाका प्रतिनिधिलाई आमन्त्रित सदस्यको रुपमा सहभागी गराउने निर्णय भएपछि हलमा छिर्न दिइएको हो।

मंगलबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको थियो।

‘१४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवस टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७-१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी यो पटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रुपमा बैठकमा सहभागी गराउने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ ।

बैठकको निर्णयअनुसार बारा क्षेत्र नं ३, पर्सा क्षेत्र नं १, सोलुखुम्बु, खोटाङ्ग, धादिङ्ग क्षेत्र नं १, दोलखा, ओखलढुङ्गा, काठमाडौं क्षेत्र नं ५, दाङ्ग क्षेत्र नं ३, कञ्चनपुर क्षेत्र नं १, बाग्लुङ्ग क्षेत्र नं २ र सिन्धुली क्षेत्र नं २ का प्रतिनिधिहरु महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

यसैगरी नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात केन्द्रीय महाधिवेशन सम्पन्न गरेका वा नेतृत्व परिवर्तन भएका १२ भ्रातृ संघ र ६ शुभेच्छुक संस्थाहरुको हकमा अध्यक्ष सहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय पनि कांग्रेसले गरेको छ ।

ती भ्रातृ संस्थाहरु नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल किसान महासंघ र नेपाल थारु संघ छन् ।

यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघका अध्यक्षसहित तीन जना महासमिति बैठकमा सहभागी हुन पाउने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय