कागेश्वरी पर्यटन महोत्सव भब्य रुपमा सम्पन्न

काठमाडौ,८फागुन।कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा कागेश्वरी धाममा १० औं पर्यटन महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।

सांस्कृतिक पौराणिक तथा धार्मिक पर्यटकीय महत्त्व बोकेको प्रसिद्ध धार्मिक तिर्थस्थल कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी धाममा आयोजित  महोत्सवको प्रतिनिधि सभा सदस्य एवं अर्थ समिति सभापति सन्तोष चालिसेले उद्घाटन गरेका थिए।

कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र कागेश्वरी मन्दीर ब्यबस्थापन एवं पर्यटन विकास समितिको व्यवस्थापनमा सम्पन्न भएको महोत्सवमा विभिन्न भेषभुषा सहितको झाँकि प्रदर्शनदेखि नृत्य,लोकबाजा,शंखवादन लगायत विद्यार्थीहरुको प्रदर्शनी समेत रहेको थियो।

यसैगरी लोपोन्मुख अवस्थामा रहेको गुन्द्री बुन्ने तान,मौलिक भाँडा कृषि औजार(कुटो,कोदालो,हलो,जुवा आदि) ढिकी,जाँताे प्रदर्शनी र स्थानीय उत्पादनलाई समेत महोत्सवमा सजाइएको थियो। त्यस्तै विद्यार्थीका कलात्मक प्रस्तुति पनि प्रदर्शनी गरिएको थियो।

कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्किले महोत्सवले धार्मिक पर्यटनको विकाससंगै स्थानीय उत्पादन तथा अर्गानिक स्वाद खोज्नेका लागि सहयोग पुगेको बताए। उनले नगरपालिकाले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिने समेत बताए।

महोत्सवले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नुको साथै स्थानीयको आम्दानी बढाउन र दीर्घकालीन योजनाहरु सफल बनाउन सहयोग पुगेको मेयर कार्कीले बताए।

कागेश्वरी मनोहरा पवित्र बागमती र मनोहरा नदिले समेत घेरिएको र धार्मिक एवं पर्यावरणीय हिसाबले उपत्यकाको अग्लो भूभाग (शिवपुरी) सहित कागेश्वरी धाम समेत भएकोले महोत्सव मार्फत देश तथा विदेशमा चिनाउन सकिएको महोत्सव प्रचारप्रसार समिति संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीले बताए।

कागेश्वरी मनोहरा नगरपालिका धार्मिक एवं कृषि क्षेत्रको लागि महत्त्वपूर्ण भएकोले महोत्सवलाई  स्थानीय उत्पादन संग जोडेर मौलिक बनाउन खोजिएको उनको भनाइ थियो।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय