गगन थापाले किन गरे आधारातमा ‘भोटिङ’ को कुरा ?

काठमाडौ,८ फागुन। नेपाली कांग्रेसले अन्ततः ‘आगामी चुनाव एक्लै लड्ने’ भन्ने प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने निर्णय लिएको छ।
सोमबार राती सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको शिर्ष नेताहरूको बैठकले यो निर्णय गरेपछि अब महासमिति बैठकमा यही प्रस्ताव संकल्पको रुपमा लैजाने सहमति पनि जुटेको छ । यद्यपि,स्रोतका अनुसार बन्दसत्रमा सभापतिको समेत ‘गठबन्धनबारे त्यतिबेलै निर्णय लिने,अहिले नबोल्ने’ भन्ने बिचार लैजाने सहमति पनि गरिएको छ।
महासमितिको आजको बैठकमा पेश हुने महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा गठबन्धन नगर्ने भन्ने शब्द थियो। त्यसैको लागि सभापति र महामन्त्रीबिच मत बाझिएको थियो। बैठक उद्घाटनका समयमा पनि सभापतिले गठबन्धन बारे अहिले बोल्न आबश्यक छैन भनेका थिए।
हिजोदेखि शुरु भएको कांग्रेस महासमिति बैठकमा आज बन्दसत्र शुरु भएसंगै उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक र अर्थमन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महतको आर्थिक प्रतिवेदन पेश हुनेछ।
महामन्त्री थापाले तयार पारेको प्रतिवेदनमा सहमति जुटाउन कांग्रेसले केन्द्रिय समिति बैठक र त्यस लगतै पटकपटक छलफल गरेको थियो। तर,महामन्त्री थापाले ‘भविष्यमा हुने चुनावमा गठबन्धन नगर्ने’ भनेर लेखेको शब्दमा संस्थापन पक्ष र इतर पक्षको मत मिल्न नसक्दा सोमबार रातिसम्म पनि प्रतिवेदनमा सहमति जुटेको थिएन।
संस्थापन इतरको नेतृत्व गरिरहेका डा.शेखर कोइराला र अर्का महामन्त्री बिश्वप्रकाश शर्मा सकारात्मक रहेपनी महामन्त्री थापा भने आफ्नो प्रस्तावबाट टसमस भएनन् । जसको कारण गोदावरीको बैठक नै प्रभावित हुने र बन्दसत्रको हल बिभाजित हुने सम्मको अवस्था आयो। पार्टी सभापतिले उद्घाटन सत्रमै त्यसबारे बोलिसकेर पनि उनको बोली टिकेन। अन्ततः आधारातमा महामन्त्री थापाकै प्रस्ताव अनुसार ‘भविष्यमा हुने चुनाबमा गठबन्धन नगर्ने’भन्ने प्रतिवेदनमा सहमति भयो।
स्रोतका अनुसार अब बन्दसत्रमा पार्टी सभापति देउवाले पनि ‘गठबन्धनबारे अहिले होइन त्यतिबेला नै बोल्ने’ भन्ने प्रस्ताव लैजाने र महामन्त्री थापाले एक्लै चुनाव लड्ने प्रस्ताव लैजाने सहमति भएको छ। सभापति निकट स्रोतका अनुसार महामन्त्री थापाको प्रस्ताव महासमिति बैठक हलबाट अस्विकृत गराउने तयारी छ।
रातिको बैठकमा पनि सभापति देउवाका बिश्वासपात्र रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई प्रस्ताव जाने भएपछि सभापतिको प्रस्ताव पार्टीको आधिकारिक हुनुपर्ने र महामन्त्रीको प्रस्ताव व्यक्तिगत विचार हुनुपर्ने तर्क राखेका थिए। त्यसकुरामा फेरि महामन्त्री थापा रिसाएपछी माहोल साम्य बनाउन ‘भोटिङ’ गरौं भन्ने समेत अवस्था आएको थियो। ‘भोटिङ गरौं म एक्लै पनि फेस गर्छु’ भन्दै महामन्त्री थापा कड्किएपछी अन्ततः महासमिति हलसम्म सभापति र महामन्त्री दुबैको प्रस्ताव लैजाने गरि बैठक सकिएको थियो।

