कांग्रेस महासमिति बैठक : उद्घाटन भव्य, भोलीबाट घनिभुत छलफल हुने

काठमाडौं,७ फागुन । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि गोदावरीमा शुरु भएको छ। उद्घाटन भव्य गरेको कांग्रेसले प्रतिवेदनहरु माथिको छलफल भने भोलि मंगलबार बिहानदेखि मात्रै शुरु गर्ने भएको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले बैठक उद्घाटन गर्दै महामन्त्री गगन थापाले उठाएका बिषयको जवाफदेखि संविधान शंशाेधन सम्मका कुरा गरे। उनले महामन्त्री थापाले उठाएको कम्युनिस्टहरु संगको गठबन्धन बारे अहिले निर्णय गर्न आवश्यक नरहेको जवाफ कार्यक्रम मै दिए। यद्यपि पार्टी भित्र महासमितिमा छलफल हुने बिषय बारे कांग्रेसमा अझै एकमत छैन।

त्यसैगरी कार्यक्रम हलमा प्रतिनिधि र शुभेच्छुकले भरिभराउ थियो।बक्ता कम राखिएको उद्घाटन सत्रमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र उपसभापति धनराज गुरुङ पछि सभापति देउवा मात्रै बोले। कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइराला र उपसभापति पुर्णबहादुर खड्काले समेत बोलेनन् ।

प्रतिनिधिले भित्र बाहिर खचाखच भरिएको अवस्था भएपनी सेल्फीमा रमाउनेहरु धेरै थिए। नजिकका जिल्लाबाट आएका समर्थकले पनि बैठक स्थलमा रौनक थपेको थियो। संस्थापक नेतादेखी बर्तमान सभापतिको स्ट्याचु र फोटोमा उभिएर तस्बिर खिच्नेहरु पनि प्रशस्त भेटिन्थे।

फागुन १० सम्म चल्ने बैठकमा छलफल गर्न मंगलबार बिहान प्रतिवेदनहरु पेश हुनेछन् । बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रस्ताव पेश हुने कांग्रेसले जनाएको छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका पार्टी प्रबक्ता डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती बारे प्रतिवेदन पेश गर्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय