मौसममा बदली हुँदै, मङ्गलबार र बुधबार वर्षाको सम्भावना
काठमाडौं, ७ फागुन । आगामी केही दिन देशभरको मौसममा बदली हुने भएको छ । मौसमविद् उज्जवल उपाध्यायका अनुसार अब ३-४ दिन मौसममा बदली भएर वर्षाको पनि सम्भावना रहेको छ ।
उपाध्यायका अनुसार नेपालको सुदूरपश्चिम भूभागबाट सोमबार राति मध्यम प्रणाली प्रवेश गर्दै छ जसले आगामी केही दिन देशभरको मौसममा बदली ल्याउने छ । उनका अनुसार मङ्गलबार पश्चिम नेपालमा र बुधबार देशभर नै वर्षा हुने सम्भावना छ । पश्चिममा मध्यम वर्षा तथा मध्य नेपाल र पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
‘उच्च पहाडी तथा हिमाली भेगमा पनि राम्रै हिमपात हुने देखिन्छ । काठमाडौंमा पनि छाता नै ओढ्नुपर्ने गरी वर्षा हुनेछ’, उपाध्यायले भने, ‘मङ्गलबारदेखि ३ दिन काठमाडौंलगायत देशका विभिन्न स्थानमा घाम लाग्न गाह्रो देखिन्छ ।’
देशभर बढ्दो प्रदुषण र धुलोधुँवालाई कम गर्न तथा सानै भएपनि वर्षाले किसानहरुलाई पनि राहत दिने अपेक्षा गरिएको छ ।