१० औं कागेश्वरी मनोहरा महोत्सव हुने

धार्मिक र कृषि पर्यटनमा जोड दिनेछौं-मेयर कार्की

काठमाडौ,५ फागुन। सांस्कृतिक पौराणिक तथा पर्यटकीय महत्त्व बोकेको प्रसिद्ध धार्मिक तिर्थस्थल कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी धाममा “१० औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव” हुने भएको छ।

यहि फागुन ७ गते आयोजना गरिएको महोत्सव कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र कागेश्वरी मन्दीर ब्यबस्थापन एवं पर्यटन विकास समितिको व्यवस्थापनमा हुने शनिबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले महोत्सवमा स्वस्ती वाचन,शंख वादन,नगर नृत्य,पन्चेबाजा,स्थानीय झाँकी तथा नृत्य लोपोन्मुख मौलिक भाँडा कृषि औजार(कुटो,कोदालो,हलो,जुवा आदि) ढिकी,जाँताे प्रदर्शनी समेत गरिने बताए।
कार्यक्रको उद्घाटन अर्थमन्त्री डा.प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको छ। महोत्सवमा भजन शिरोमणि भक्तराज आचार्यलाई सम्मान गरिनेछ भने उनका छोराहरू सत्यराज र स्वरुपराज आचार्यको प्रस्तुति रहनेछ।

यसैगरी ख्यातिप्राप्त कलाकारहरु जीवन शर्मा, दिपक राज गिरी,जेरी बानियाँ,प्रकाश सपूत सहित स्थानीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको मेयर कार्कीले जानकारी दिए।

कागेश्वरी मनोहरा पवित्र बागमती र मनोहरा नदिले समेत घेरिएको र धार्मिक एवं पर्यावरणीय हिसाबले उपत्यकाको अग्लो भूभाग (शिवपुरी) समेत यसै नगरपालिकाको सिरानमा पर्ने भएकोले धार्मिक पर्यटकको लागि आकर्षण बन्ने पनि मेयर कार्कीको दाबी छ। भगवान शिवले पार्वतीको देहावसान पछि सतिदेवीको मृत शरीर बोकेर हिड्दा कागेश्वरी धाममा समेत अंग पतन भएकोले यहाँको छुट्टै महत्त्व छ। यसैगरी थुप्रै तिर्थस्थल र मठ मन्दिर एवं गुम्बा पनि यो क्षेत्रमा धेरै छन् ।
यो नगरपालिका धार्मिक एवं कृषि क्षेत्रको लागि महत्त्वपूर्ण भएकोले महोत्सवलाई स्थानीय उत्पादन संग जोडेर मौलिक बनाउन खोजिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक एवं वडा नम्बर-८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीले बताए।
गत बर्ष सम्म यो महोत्सवलाई स्थानीय समितिले ब्यबस्थापन गर्दै आएकोमा यसबर्षदेखी नगरपालिका आफैंले स्वामित्व लिएर अगाडी बढाउन मेयर संयोजक र उपमेयर सह-संयोजक रहने गरि ९ वटै वडाको अध्यक्षलाई समितिमा राखेर आयोजक समिति बनाइएको पनि सो अवसरमा जानकारी दिइयो ।

महोत्सवले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नुको साथै स्थानीयको आम्दानी बढाउन र दीर्घकालीन योजनाहरु सफल बनाउन सहयोग पुग्ने बताइएको छ।’पर्यापर्यटनको संभावनाको खोजी गर्नु,धार्मिक पर्यटनको बिकास र बिस्तार गर्नु तथा उत्पादनमुखी पर्यटनसंगै कृषि पर्यटनलाई जोड दिने उदेश्यले यो महोत्सव आयोजना गरिएको हो’ -मेयर कार्कीले भने-,’हामीले नगरको हरेक गतिविधिलाई ध्यानमा राखेर खेल पर्यटन र खेल अर्थतन्त्रलाई समेत जोड दिएका छौं।यस नगरपालिकामा ओडीआइ मान्यता प्राप्त क्रीकेट रंगशाला पनि भएकोले क्रीकेट मैदान जस्तै अन्य गौरवको आयोजनालाई पनि ध्यानमा राखेर काम गर्न प्रतिबद्ध छौ।’

पत्रकार सम्मेलनमा धार्मिक अभियानमा सक्रिय मणिराम अर्याल सहित वडा अध्यक्षहरुले आ-आफ्ना धारणा र तयारीका बारेमा जानकारी दिएका थिए।


Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय