राजनीतिमा जनतासँगै जोडिएका ‘तिलक’
पञ्चायत विरुद्धको आन्दोलनदेखि लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा धादिङका जनताबिच असल राजनीतिज्ञको रुपमा चिनिएको नाम हो तिलक रुवाली । परिवर्तनका लागि भएका जुनसुकै आन्दोलनमा जनतासँगै रहने र विकासका काममा पनि जनताको प्रिय भएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका रुवाली पार्टी नेताकार्यकर्ताको माझमा मात्रै होइन सिङ्गो धादिङका जनताका लागि असल र ईमानदार नेतामा पर्दछन ।
देशमा पञ्चायतको दबदबा रहेको बेला २०३८ साल वैशाखमा उनी नेपाल विद्यार्थी संघको राजनीतिमा जोडिए, जतिबेला विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति थिए । त्यसबेला राजनीति गर्नु र त्यसमाथि पनि पञ्चायत विरुद्ध लडिरहेको नेपाली काँग्रेसमा आबद्ध हुनु चुनौती र जोखिमयुक्त मानिन्थ्यो । तर,तिलकले त्यो चुनौती स्वीकार गर्दै जस्तोसुकै जोखिम पनि लिन तयार भए । आफुलाई प्रजातान्त्रिक आन्दोलनको एक अथक योद्धाको रुपमा अगाडी बढाएका रुवाली २०५२ सालमा नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बने ।
नेपाल विद्यार्थी संघको राजनीतिमा नेतृत्व लिनु अगाडि नै तिलक माउ पार्टी काँग्रेसमा सक्रिय युवा नेता बनिसकेका थिए । देशमा पञ्चायतको अन्तिम शासन चल्दै थियो । पञ्चायत विरुद्ध अन्तिम संघर्षको तयारीमा रहेको नेपाली काँग्रेसले २०४६ माघमा गरेको राष्ट्रिय सम्मेलनमा तिलक धादिङबाट प्रतिनिधि चुनिएका थिए । माघ ५-७ सम्म काठमाडौमा भएको त्यो सम्मेलनमा धादिङबाट जम्मा १० जना प्रतिनिधि सर्वसम्मतिले छानिदा तिलक पनि छानिएका थिए।
त्यस लगत्तै सुरु भएको पञ्चायत विरुद्धको आन्दोलनमा तिलक पनि सरिक भए । त्यो आन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा बहुदलीय प्रजातन्त्रको उदय भयो। त्यसपछि तिलकले आफ्नो अध्यनलाई पनि निरन्तरता दिँदै गए । त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पसबाट भुगोलमा स्नातकोत्तर गरेका तिलक राजनीतिसँगै सामाजिक अनुसन्धानको काममा पनि रुचि राख्छन् ।

केन्द्रिय क्याम्पस त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने क्रममा नै उनमा सामाजिक सेवा, अनुसन्धान र जनतासँग प्रत्यक्ष जोडिएर जनताकै लागि राजनीति गर्नुपर्छ भन्ने भावना आएको थियो । ‘म जनतासँग टाढा भएर कहिल्यै व्यक्तिगत स्वार्थमा राजनीति गर्न सक्दिन’, तिलक भन्छन्- ‘राजनीतिक विचार आफ्नो ठाउँमा हुन्छ तर, विकास र समृद्धिका लागि जनताको गुनासो सुनेर त्यसलाई समाधान गर्नु पहिलो प्राथमिकता हुनेछ ।’
तिलकले कास्कीका लोकप्रिय नेता महादेव गुरुङ अध्यक्ष रहेको समयमा नेपाल तरुण दलको केन्द्रिय सदस्य भएर पनि राजनीतिलाई अगाडी बढाए । २०४६ सालको ऐतिहासिक जन आन्दोलनकै समयमा पार्टी क्रियाशिल सदस्य लिएका तिलक २०५३ सालको नवौं महाधिवेशनदेखि १४औं महाधिवेशनसम्म लगातार ६ पटक महाधिवेशन प्रतिनिधि र ३ पटक महासमिति सदस्य चुनिए । हाल नेपाली काँग्रेस बागमती प्रदेश समितिका प्रवक्ता रहेका तिलक लामो राजनीतिक इतिहास भएका र सामाजिक जीवनमा थुप्रै लोकप्रिय काम गरेका व्यक्ति हुन् ।
यति हुँदाहुँदै पनि तिलकले राजनीतिक जीवनमा संसदीय अभ्यास गर्ने अवसर भने पाएका छैनन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा धादिङबाट टिकट पाएपनि थोरै मतले संविधानसभामा पुग्ने अवसरबाट उनी वञ्चित भए । त्यसपछि २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि सशक्त दावेदार रहेर पनि उनलाई टिकट दिइएन । तर, जसले टिकट पाएपनि पार्टीको इमानदार सिपाही बनेर उनी पूरा गर्न लागिरहे। ‘टिकट पाउनु र जित्नु मात्रैलाई मैले प्राथमिकता भित्र राखिन, प्रजातान्त्रिक आन्दोलनमा लागेका अरु साथीहरूले टिकट पाउनु पनि मैले पाएकै जस्तो हो भनेर म आफ्नो जिम्मेवारी पूरा गर्न लागिरहे’, उनले भने- ‘म सदन वा सडक जहाँ भएपनि जनताको कामलाई प्राथमिकतामा राखेर विकास निर्माणमा सहकार्य गर्न रुचाउँछु । त्यसैले संसदमा नहुँदा झन् जनताको माझमा पो छु त ।’
राष्ट्रियता,लोकतन्त्र र नेपाली कांग्रेसलाई जस्तै पार्टीका नेताकार्यकर्ता अनि जनतालाई पनि माया गर्ने तिलकले प्रजातान्त्रिक मूल्य, मान्यता र नेपाली काँग्रेसका संस्थापक नेताहरू वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह जस्ता नेताको आदर्शलाई सधैं पछ्याइरहने बताउँछन् ।

उनले २०४६ सालमा नेपाली काँग्रेसको कार्यक्रममा भारतीय नेता चन्द्रशेखर सहित एक दर्जन भारतीय नेताले सहभागिता जनाएको र त्यो सम्मेलनमा आफू पनि प्रतिनिधि भएर धेरै विचार बुझ्न र सुन्न पाएकोमा पनि खुशी व्यक्त गरे । राजनीति भनेको व्यापार वा व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम बन्न नहुने तर्क राख्ने तिलक आफू जहिले पनि जनताको पिर मर्कामा उनीहरुसँगै भएर काम गर्न पाउँदा मात्रै राजनीतिक उदेश्य पूरा भएको महसुस हुने पनि बताउँछन् । ‘मैले जहिले पनि जनताको गाह्रो अफ्ट्यारोमा साथ दिन पाएको’, उनले परेवान्युजसँग भने, ‘जुनसुकै परिवर्तन जनता र कार्यकर्ता बिना संभव छैन। त्यसैले परिवर्तनका एजेन्डा स्थापित गर्न र त्यसको उपलब्धि जोगाउने कुराको असली हकदार पनि उनीहरु नै हुन् ।’
उनले आफ्नो गाउँ र निर्वाचन क्षेत्र मात्रै होइन सिङ्गो जिल्लाका सबैजसो गाउँमा जनतासँग प्रत्यक्ष जोडिएर विकासका काम गरेका छन् । तिलकले धेरै विकास आयोजनामा मुख्य भुमिका खेलेको भएपनि त्यसको जस भने एक्लै होइन सामुहिक रुपमा लिनुपर्छ भन्दै आएका छन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी पार्टीले चुनावमा पालो पालो जित्ने गरेको भएपनि विकासको काममा सबै एक ठाउँमा उभिने गरेको र त्यसमा आफू पनि हिस्सेदार रहने गरेको सुनाए । म एक्लैले ‘यो गरे,त्यो गरे’ भन्नुभन्दा पनि विकासमा सबैको आ-आफ्नो भुमिका छ भन्दा राम्रो हुन्छ भन्ने तिलकले धादिङबेशी देखि साङ्कोस हुँदै तिप्लिङ सम्मको बाटो(दामन पाख्रीन मार्ग)लाई केन्द्रिय सडक अन्तर्गत राखेर सुशील कोइराला प्रधानमन्त्री र डा.रामशरण महत अर्थमन्त्री हुँदा काम गर्न सकेकोमा खुशी व्यक्त गरे। हाल उक्त सडक भएर काठमाडौदेखि तिप्लिङसम्म मोटर जाने गरेको छ ।
त्यसैगरी सल्यानटार-आगिन्चोक हुँदै गुम्दीसम्मको ग्रामीण सडक निर्माणमा पनि तिलकको महत्त्वपूर्ण भुमिका छ । सडक बाहेक मठ मन्दीर र सामाजिक भवन तथा झोलुङ्गे पुल निर्माणमा पनि उनको भुमिका मुख्य रुपमा देखिन्छ । हालै त्रिपुरासुन्दरी-१ स्थित सल्यानटारमा निर्माण भैरहेको नरसिंह धामको लागि दुई आर्थिक वर्षमा बजेट विनियोजन गर्न पनि उनले पहल गरे । जस अनुसार गत आर्थिक बर्षमा ४० लाख बागमती प्रदेश सरकार र यो आर्थिक बर्षमा २० लाख केन्द्रिय सरकार सहरी विकास मन्त्रालय अन्तर्गत बजेट विनियोजन भइसकेको छ । जिल्लाको खानेपानी, सिँचाइ र झोलुङ्गे पुल निर्माणमा पनि उनी जनताको साथमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

राजनीतिसँगै केही समय यातायात व्यवसायमा पनि सक्रिय रहेका तिलक अहिले पनि राजनीतिलाई पेशा होइन सेवाको रुपमा लिन्छन् । त्यसैले उनले आफ्नो खर्चका लागि आफैं कमाउने र नपुग भएमा पारिवारिक सपोर्ट माग्ने गरेका छन् । राजनीतिमा लागेर सामाजिक अनुसन्धानको काम पनि गरिरहेका तिलक २०५१ सालमा भूगोल विषयमा स्नातकोत्तर उतिर्ण गरेपछी रिसर्चको काममा पनि ब्यस्त रहे।पछिल्लो समय अझै बढी जनतासँग भिजेर काम गरिरहेका तिलक रुवाली सबै पार्टीको लागि प्रीय नेता बनेका छन् । आशा छ अबको धादिङको राजनीतिमा उनले मुख्य भुमिका सहित आफुलाई अब्बल साबित गर्ने छन् ।

