आइसिसी क्रिकेट विश्वकप लिग २: नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं, ५ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार विहान सवा ९ बजेदेखि सुरु हुनेछ । खेलको डिशहोम एक्सन स्पोर्ट्स च्यानलमा तथा डिशहोम गो मार्फत प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।
नेपालको कप्तानी रोहितकुमार पौडेलले गर्ने छन् भने नेदरल्यान्ड्सको कप्तानी स्कट एडवार्ड्सले गर्ने छन् । हालसम्म खेलेका ३ एकदिवसीय खेलमध्ये नेदरल्यान्ड्स २ खेलमा विजयी हुँदा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो एकदिवसीयको पहिलो जित नेदरल्यान्ड्समाथि नै हासिल गरेको थियो ।
यसअघि बिहिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गर्नुपरेपछि नेपाल सुरुवातदेखि नै विकेट पतनको शिकार भएको थियो ।

