लिग २ क्रिकेट: नामिबियासँग नेपाल पराजित

काठमाडौं, ३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नामिबियाले नेपाललाई ४ विकेटले हराएको हो ।

नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नामिबियाका लागि जान फ्रायलिन्कले सर्वाधिक ३४ रन बनाए भने जान निकोल लोफ्टी इटनले ३१ रन बनाए । माइकल भान लिन्जेनले २३ रन बनाउँदा जेजे स्मिट १७ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नामिबियालाई १३३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १३२ रन बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै गुल्शा झाले २१ र करण केसीले १६ रन बनाए । कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाए ।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट हुँदा आसिफ शेख ४ रनमा आउट भएका थिए । अनिल शाह ८ रनमा र कप्तान रोहित पौडेल १ रनमा आउट भएपछि नेपाल १०औं ओभरमा २१-४ को अवस्थामा पुगेको थियो ।त्यसपछि भीम र कुशल मल्ल मिलेर इनिङ उकास्दै ४६ रनको साझेदारी गरेका थिए । तर कुशल आउट भएपछि फेरि नेपालको विकेट पतनको क्रम जारी रहँदा सस्तैमा समेटिन पुगेको हो ।

नामिबियाका कप्तान जेरार्ड इरास्‍मसले ८.१ ओभरमा २८ रन दिएर ५ विकेट लिए । त्यस्तै रुबेन ट्रम्पलमेन र ज्याक ब्रसेलले २२ विकेट लिँदा जान निकोल लफ्टी इटनले १ विकेट हात पारे ।

नेपालले आफ्नो दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय