अदालतको आदेश विरुद्ध माओवादीले जितेका पालिकामा जनयुद्ध दिवसको सार्वजनिक बिदा

काठमाडौं, २९ माघ । सर्वोच्च अदालतको आदेश विपरीत देशका विभिन्न स्थानीय तहले फागुन १ गते ‘जनयुद्ध दिवस’ भन्दै धमाधम सार्वजनिक बिदा दिन थालेका छन्।

गोरखा,सल्यान,रुकुम,रोल्पा,सिन्धुपाल्चोक लगायत जिल्लामा माओवादीले जितेका धेरैजसो स्थानीय तहमा बिदा दिइएको हो। सल्यानको दार्मा गाउँपालिकाले जनयुद्ध दिवस भन्दै फागुन १ गते सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष जुना मल्ल चन्दद्वारा आइतबार सार्वजनिक सूचनामा माघ १७ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक बिदा दिएको उल्लेख छ ।

संघीय सरकारले दिएको सार्वजनिक बिदाको निर्णय केही दिनअघि सर्वोच्च अदालतले बदर गरिदिएको थियो । तर माओवादी केन्द्रले जितेका केही पालिकामा भने बिदा घोषणा गरिएको छ।

त्यस्तै, सार्वजनिक बिदा दिनेमा लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका, माडी गाउँपालिका र बागमती प्रदेशको चौंरीदेउराली गाउँपालिका पनि छन्। रोल्पा नगरपालिका र चौंरीदेउरालीले माघ २५ गते र माडी गाउँपालिकाले माघ २४ सूचना निकालेर फागुन १ गते बिदा दिने निर्णय सार्वजनिक गरेका हुन। सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णय गत पुस १३ गते नै बदर गरिदिएको थियो।

यसैगरी गण्डकी प्रदेशको गोरखामा माओवादीले जितेका स्थानीय तहमा बिदा दिइएको छ। गण्डकी गाउँपालिका,भिमसेन थापा गाउँपालिकामा बिदा दिइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय