नेपाल र क्यानडाबीचको तेस्रो एकदिवसीय खेल आज

काठमाडौं, २९ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल हुँदै छ । खेल विहान सवा ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्‍चक जीत हासिल गरेको थियो भने शनिबार भएको दोस्रो खेलमा ४ विकेटको जीत हासिल गरेको थियो । दुई जीतसँगै नेपालले श्रृंखला आफ्नो नाममा गरिसकेको छ ।

नेपाल आजको खेल पनि जित्दै सिरिज क्लिन स्वीप गर्ने धुनमा हुने छ भने क्यानडाले सान्त्वना जीत निकालेर श्रृंखला सक्ने प्रयास गर्ने छ । कप्तान साद बिन जफरले दुवै खेलमा केही कमजोरीका कारण खेल गुमाउन पुगेकाले आजको खेलमा केही सुधार गरेर जित्‍ने प्रयासमा हुने बताएका थिए ।

नेपालले टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । तीव्र गतिका बलर हेमन्त धामीले आजको खेलमा मौका पाउन सक्छन् । त्यस्तै भीम सार्कीको स्थानमा आरिफ शेख टोलीमा फर्कन सक्छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय