भारतलाई हराउँदै अस्ट्रेलिया यु-१९ क्रिकेट विश्‍वकप च्याम्पियन

काठमाडौं, २८ माघ । अस्ट्रेलियाले आइसिसी यु-१९ क्रिकेट विश्‍वकप २०२४ को उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ७९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको २५४ रनको लक्ष्य पछ्याएको भारतले ४३.५ ओभरमा अलआउट हुँदै १७४ रन मात्र बनाउन सक्यो । भारतका लागि ओपनर आदर्श सिंहले सर्वाधिक ४७ रन बनाए । त्यस्तै मुरुगन अभिषेकले ४२ तथा मुशीर खानले २२ रन बनाए ।

अस्ट्रेलियाका माहली बर्डम्यानले ७ ओभरमा १५ रन दिएर ३ विकेट लिए । त्यस्तै राफ माकमिलनले १० ओभरमा ४३ रन दिएर ३ विकेट लिए । क्यालम विडलरले १० ओभरमा ३५ रन दिएर २ विकेट लिए । चार्ली एन्डरसन र टम स्ट्रेकरको नाममा एक विकेट रह्‍यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो । अस्ट्रेलियाका हर्जस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान हुग वेगबेनले ४८ रन बनाउँदा ओलिभर पिके ४६ रनमा अविजित रहे । ओपनर ह्‍यारी डिकसनले ४२ रन बनाए ।

भारतका लागि राज लिम्बानीले १० ओभरमा ३८ रन दिएर ३ विकेट लिए । नमन तिवारीले ९ ओभरमा ६३ रन दिएर २ विकेट लिए । सउमे पान्डे र मुशीर खानको नाममा ११ विकेट रह्‍यो ।

अस्ट्रेलियाले सन् २०१२ र २०१८ को फाइनलमा भारतसँगै हार व्यहोरेर उपाधिबाट वञ्‍चित भएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय