काठमाडौंको एक होटलमा मृत भेटिइन् महिला, हत्याको आशंका

काठमाडौं, २८ माघ । काठमाडौंको गौशालास्थित एक होटलमा महिलाको शव भेटिएको छ । काठमाडौं महानगरपालिका-९ गौशाला विजय चोकमा रहेको सिराहा धनुषा होटल एण्ड लजमा ४५ वर्षीय महिलाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार होटलमा उनीसँगै एक पुरुष पनि रहेको खुलेको छ । तिनै पुरुषले ती महिलाको हत्या गरी कोठाको बाहिरबाट चाबी लगाएर फरार भएको प्रहरीको आशंका छ ।
गेस्ट हाउसको ढोका दुई दिनसम्म पनि नखुलेपछि अर्को साँचो प्रयोग गरेर ढोका खोलिएको थियो । कोठा खोल्दा भित्र शव देखेपछि गेस्ट हाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

