माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, २८ माघ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । विहान ११ बजे राष्ट्रिय सभागृहमा बैठक बस्ने तय गरिएको पार्टीक प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

दुई दिनसम्म चल्ने बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो ।

गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो । बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा पनि छलफल हुने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय