कांग्रेस महासमिति बैठकमा खान पाइने बस्न नपाइने
बैठकमा आउनेले ३ हजार बुझाउनुपर्नेकाठमाडौ,२८ माघ। नेपाली कांग्रेस महासमिति बैठकको तयारी तिब्र चलिरहेको छ। केही क्षेत्र बाहेक सबैजसो क्षेत्रबाट महासमिति सदस्य निर्वाचित भैसकेका छन् । बैठक सम्पन्न गर्न विभिन्न उपसमिति पनि बनिसकेका छन् ।
कांग्रेसले फागुन ७ देखि गोदावरीमा महासमिति बैठक गर्दैछ। सो बैठकमा सहभागी हुने प्रत्येक सदस्यको लेबी ३ हजार तोकिएको छ। तर,यसपटक बैठकका सहभागीलाई खानाको ब्यबस्था बैठक स्थलमै हुनेछ भने बास बस्न चाहिँ सहभागी आफैंले ब्यबस्था गर्नुपर्ने छ।
नेपाली कांग्रेसले चार पटक सारिसकेको यो बैठक अब भने फागुन ७ देखि १० सम्म गोदावरी हलमा हुनेछ । बैठकको तयारी तिव्र चलिरहेको र केही प्रतिशत मात्रै काम बाकी रहेको पार्टी प्रचार विभाग विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।
बैठकको प्रतिवेदन लेखनको काम संगै हल बुकिङ र भोजनको व्यवस्थापन पनि गरिसकिएको बिश्वकर्माले जानकारी दिए। महासमिति सदस्य निर्वाचन हुन बाकी रहेका करिब २५ क्षेत्रबाट छिटो टुंगो लगाउन भनिएको र त्यसमा पनि ७ देखि १० क्षेत्रमा मात्रै विवाद देखिएको उनले बताए। महासमिति सदस्य चयनमा देखिएको विवाद समाधानको जिम्मा अब पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई दिइएको छ।
महासमिति बैठकमा देशका १६५ निर्वाचन क्षेत्रबाट २ हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। पार्टीको विधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महासमिति सदस्य चयन भएर आउँछन्। त्यसमा केन्द्रीय सदस्य, पूर्वकेन्द्रीय सदस्य, भ्रातृ संस्था लगायतबाट पनि प्रतिनिधित्व हुनेछ।
यस अघि नै पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकलाई प्रभावकारी बनाउन आठ वटा विभिन्न उपसमिति गठन गरिसकेका छन् ।जसमा प्रचार–प्रसार उपसमितिमा मीनबहादुर विश्वकर्मा, आवासमा मदनबहादुर अमात्य, भोजनमा उदयशमशेर राणा, यातायातमा धना खतिवडा, स्वयंसेवक परिचालनमा जितजंग बस्नेत, स्वास्थ्य समन्वयमा उर्मिला नेपाल केसी, प्रदेश समन्वयमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापनमा जितेन्द्र श्रेष्ठ संयोजक छन्।
बैठकले उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रस्ताव, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन संयुक्त रुपमा पेश गर्दैछन्।