रोहित र देवको उत्कृष्ट इनिङमा नेपाललाई एक खेल अगावै श्रृंखला

काठमाडौं, २७ माघ । काठमाडौंमा जारी नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो जीत हासिल गर्दै एक खेल अगावै श्रृंखलामाथि कब्जा जमाएको छ । शनिबार भएको खेलमा क्यानडामाथि ४ विकेटको जीत निकाल्दै नेपालले श्रृंखला जितेको हो ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । त्यस्तै देव खनालले ७२ रन बनाए । देव र रोहित मिलेर १५० रनको साझेदारी गर्दै जीतको आधार तय गरेका थिए । त्यसअघि ‌ओपनर अनिल साहले २० बलमा ५० रनको योगदान दिएर आउट भए ।

क्यानडाका लागि इश्‍वरजत सोहीले ७ ओभरमा ४८ रन दिएर २ विकेट लिए । त्यस्तै हर्श ठाकरले ९ ओभरमा ७३ रन दिएर २ विकेट लिए । साद बिन जफर र दिलप्रित बजवाले १-१ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर हुँदै २८५ रन बनायो । क्यानडाका लागि ओपनर आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । त्यस्तै अर्का ओपनर नवनीत धलिवालले ४६ रन बनाए । त्यस्तै श्रेयस मोभ्भाले ४० तथा पर्गत सिंहले ३८ रन बनाए ।

क्यानडाले आजको खेलमा उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेको थियो । ३२औं ओभरमा १७९-३ को बलियो अवस्थामा भएर ३०० रन कटाउने लक्षण देखाएको क्यानडाले बीचमा विकेट गुमाएपनि अन्त्यतिर सम्हालिएर बलियो योगफल बनाउन सफल भयो ।

नेपालका लागि कुशल मल्लले १० ओभरमा ५१ रन दिएर २ विकेट लिए । त्यस्तै कप्तान रोहित पौडेलले ८ ओभरमा ३२ रन दिएर २ विकेट लिए । पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ, सोमपाल कामीले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय