नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाडौं, २७ माघ । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट श्रृंखलाअन्तर्गत आज दोस्रो खेल हुँदै छ । तीन खेलको श्रृंखला अन्तर्गतको दोस्रो खेल आज विहान सवा ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ ।
यसअघि बिहिबार भएको पहिलो खेलमा नेपालले ७ रनको रोमाञ्चक जीत हासिल गरेको थियो । नाटकीय रुपमा पतनको शिकार भएको क्यानडाले जीतको मुखमा पुगेर लय गुमाउन पुगेको थियो ।
नेपाल आजको खेल जित्दै श्रृंखला एक खेल अगावै आफ्नो पोल्टामा पार्ने दाउमा हुने छ भने क्यानडाले श्रृंखला बराबरी गरेर अन्तिम खेललाई निर्णायक रुप दिन चाहनेछ ।
नेपालले पहिलो खेलबाट केही परिवर्तन गर्ने सम्भावना छ । पवन सर्राफको स्थानमा देव खनाल तथा कुशल मल्लको स्थानमा हेमन्त धामी खेल्न सक्ने छन् ।

