‘टिकटक’ खुलाउन काठमाडौ आएको टोलीलाई प्रचण्डले भेट्नै मानेनन्

काठमाडौ,२७ माघ। लामो समयदेखि नेपालमा बन्द रहेको ‘टिकटक’ खुलाउन अनुरोध गर्न नेपाल आएको टिकटक मुख्यालयको टोलीसित प्रधानमन्त्रीले भेट गर्न नमानेको बुझिएको छ।

टिकटक प्रतिबन्ध हटाउन अनुरोध गर्दै यसअघि नेपाल आएको ५ सदस्यीय टोली नेपालमा टिकटक खुल्ने अवस्था नदेखेपछी फिर्ता भएको थियो।  त्यो टोलीसित पनि प्रधानमन्त्री कार्यालयले भेट गर्न चाहेको थिएन। त्यस लगत्तै अहिले अर्को टोली काठमाडौं आइपुगेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगै भेटेर सम्झाउन खोजेको उक्त टोलीलाई प्रधानमन्त्रीले भेट्न नखोजेपछी सन्चारमन्त्री रेखा शर्माले भेटेको बुझिएको छ। नेपाल सरकारले टिकटक प्रतिबन्ध गरेको बिषयमा बुझ्न र टिकटक खुलाउन टोली काठमाडौ आउजाउ गरिरहेको छ।

स्रोतका अनुसार केही दिन अघि टिकटक हेडक्वार्टरबाट पाँच सदस्य टोली नेपाल आएर फर्केको केही समयमै फेरि २ जना नेपाल आइसकेका छन् । पछिल्लो टोलिले पनि प्रधानमन्त्री भेट्न सकेको छैन।

टिकटकको कारण नेपाली समाजमा नकारात्मक प्रभाव परेको र सामाजिक सद्भाव समेत बिगार्ने काम भएको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै अदालतमा मुद्दा  परेपनी अदालतले समेत तत्काल कुनै निर्णय नदिएपछि हाल नेपालमा टिकटक बन्द छ।

तर, टिकटक कम्पनीले भने नेपालमा टिकटक बन्द नगर्न पटकपटक अनुरोध गर्दै आएको छ। नेपालमा टिकटक प्रतिबन्ध भएपछि पत्र नै लेखेर टिकटक कम्पनीले नेपाली समाजलाई अफ्ट्यारो पार्ने र आपत्तिजनक भिडिओ हटाउन तयार रहेको समेत जनाएको थियो। तर, नेपाल सरकारले तत्काल टिकटक माथिको प्रतिबन्ध नहट्ने भनेपछि टिकटकका प्रतिनिधिहरू नेपालमै आउजाउ गर्न थालेका हुन् ।

नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएको बारे चीन सरकारले समेत चासो राखेको छ। सोही बिषयमा चीनिया राजदुतले समेत प्रधानमन्त्री प्रचण्डलाई भेटेर सम्झाउन खोजेको कुरा बाहिर आएको थियो। तर,प्रधानमन्त्रीले राजदुतसंग भेट गरेपनी टिकटक हटाउन सहमत भने भएनन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय