पाकिस्तानलाई एक विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा
काठमाडौं, २५ माघ । अस्ट्रेलिया आइसिसी यु-१९ क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको रोमाञ्चक सेमिफाइनल खेलमा पाकिस्तानलाई १ विकेटले हराउँदै अस्ट्रेलियाले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
पाकिस्तानले दिएको १८० रनको लक्ष्य अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो । अस्ट्रेलियाका लागि ओपनर ह्यारी डिकसनले ५० तथा ओलिभर पिकेले ४९ रन बनाए । टम क्याम्पबेलले २५ रन बनाउँदा राफ माकमिलन १९ रनमा अविजित रहे ।
पाकिस्तानका अली राजाले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए । त्यस्तै अराफत मिनहासले १० ओभरमा २० रन दिएर २ विकेट लिँदा उबेद साह र नभीद अहमदले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो । अराफात मिनहास र अजान अवेसले समान ५२ रनको योगदान दिए । ओपनर समयल हुसेनले १७ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
अस्ट्रेलियाका टम स्ट्रेकरले ९.५ ओभरमा २४ रन दिएर ६ विकेट लिए । त्यस्तै महिल बर्डमान, कालम विडलर, राफ माकमिलन र टम क्याम्पबेलले १-१ विकेट लिए ।
अस्ट्रेलियाले अब उपाधिका लागि आइतबार भारतसँग खेल्ने छ ।