रोहितको चार विकेटमा क्यानडामाथि नेपालको नाटकीय जीत
काठमाडौं, २५ माघ । बिहिबारदेखि काठमाडौंमा सुरु भएको नेपाल र क्यानडाबीचको एकदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले नाटकीय जीत हासिल गरेको छ । क्यानडालाई नेपालले ७ रनले हराएको हो ।

नेपालले दिएको २२५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रन मात्र बनायो । कुनै समय जीत लगभग पक्का जस्तै देखिएको क्यानडा नाटकीय रुपमा विकेटको पतन हुँदा जीतबाट वञ्चित भयो । क्यानडाका निकोलस किर्टनले सर्वाधिक ६८ रन बनाए । त्यस्तै परगत सिंहले ५० रन बनाए । हर्श ठाकरले ३२ रन बनाउँदा ओपनर आरोन जोनसोन २० रनमा पेभेलियन फर्किए ।

क्यानडा एक समय १८९-४ को अवस्थामा थियो । त्यसपछि १८९ रनमा पाँचौं विकेट गुमाउँदा १९५ मा छैटौं, २०७ मा सातौं र आठौं तथा २१२ मा नवौं र २१७ मा १०औं विकेट गुमाएर नाटकीय रुपमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले ८.४ ओभरमा १ मेडनसहित २२ रन दिएर ४ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ विकेट लिँदा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १-१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाए । त्यस्तै आरिफ शेखले ३८, सोमपाल कामीले २७ तथा कुशल मल्लले २० रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन सकेन ।
कुनै समय १९औं ओभरमा ९८-२ को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाएको थियो । कुशल भुर्तेल ६२ रनमा साद बिन जफरको बलमा स्टम्प्ड आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । त्यसपछि नेपालले १०८ मा चौथो, १४१ मा पाँचौं, १७३ मा छैटौं र १८१ रनमा सातौं विकेट गुमाएको थियो ।
सोमपाल कामीले सूर्य तामाङसँग मिलेर केही समय इनिङ सम्हाल्दै नेपालको २०० रन पार गराए । सोमपाल २७ रनमा आउट भएसँगै नेपालको आठौं विकेट २१८ रनमा गुमेको थियो । त्यसपछि नेपालले ६ रन मात्र जोड्यो ।
क्यानडाका लागि उदय भागवनले ८ ओभरमा ४० रन दिएर ३ विकेट लिए । कप्तान साद बिन जफरले १० ओभरमा ४४ रन दिएर २ विकेट लिए । त्यस्तै इश्वरजत सोहीले पनि २ विकेट लिँदा साहिद अहमदजाइ र हर्श ठाकरले १-१ विकेट लिए ।