उकालो लाग्‍न सकेन काठमाडौंको न्युनतम तापक्रम, विहान ठिहिर्‍याउने चिसो

काठमाडौं, २५ माघ । बिहिबार पनि काठमाडौं उपत्यकामा ठिहिर्‍याउँदो चिसो महसुस भएको छ । न्युनतम तापक्रम उकालो लाग्‍न नसक्दा काठमाडौंमा चिसो नै महसुस भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार विहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ । विहान पौने ९ बजेको आधिकारिक मापन अनुसार काठमाडौंको तापक्रम ३ डिग्री देखिएको हो ।

हिजो बुधबार पनि उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । त्यसअघि मङ्गलबार ३.५ डिग्री रहेको थियो । सोमबार भने ६ डिग्रीभन्दा माथि रहेको न्युनतम तापक्रम त्यसयता घट्दै आइरहेको छ ।

मौसमविद्का अनुसार राति मौसममा बदली भएर आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्ने गर्छ । त्यस्तै राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्ने गर्छ। अब एकपटक पानी परेपछि विस्तारै तापक्रम बढ्ने क्रम सुरु हुने र जाडो हट्दै जाने जनाइएको छ ।

यद्यपि आगामी तीनसम्म काठमाडौं वा आसपासका स्थानमा वर्षाको सम्भावना छैन । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसभित्र रहने अनुमान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय