डा.भट्टराईलाई आफ्नैबाट धोका !
महेन्द्रलाई उचालेर नेसपा फुटाउने गङ्गानारायणको दाउ

काठमाडौ,२१ माघ।पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजनको सँघारमा पुगेको छ ।
पछिल्लो समय अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका केही नेता नै अर्का अध्यक्ष महेन्द्रराय यादवसंग मिलेर नेसपा फुटाउने षड्यन्त्रमा लागेको बुझिएको छ। यसको संकेत काठमाडौमा जारी नेसपाको बैठकमै देखिएको छ।
काठमाडौमा जारी सो पार्टीको केन्द्रीय कार्यकारिणी समिति पछि केन्द्रिय समिति बैठकमा नेताहरूबिच नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्नेमा विवाद देखिएको छ। त्यसो त तत्काल पार्टीको एकता महाधिवेशन गर्ने डा.भट्टराईको प्रस्तावमा उनी पक्षकै नेता पार्टी सह-अध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठले अब्जेक्सन गर्दै पार्टी फुटाउने चेतावनी दिएको स्रोतको भनाइ छ।
पुर्व विद्यार्थी नेता समेत रहेका मन्त्री श्रेष्ठ जनयुद्ध कालिन अवस्थामा जेल परेका र डा.भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयका मुख्य सचीव समेत थिए।उनि युद्धको समयदेखि शान्ति प्रक्रिया र डा.भट्टराईको नयाँ शक्ति निर्माणमा समेत खुलेरै लागेका नेता हुन् । तर, हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खास मान्छे भएर श्रेष्ठले महेन्द्र यादवलाई उचालेर नेसपा फुटाउन खोजेको आरोप लागेको छ। श्रेष्ठ सहित उनकी श्रीमती वन्दना सुवेदी समेत नेसपा फुटाउने अभियानमा रहेको बुझिएको छ।
नेसपाको बिधान मस्यौदा र पार्टी एकताबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति र केन्द्रिय समितिको बैठक २ दिनसम्म काठमाडौमा बसेको थियो । तर बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले अब प्रचण्डसँग पार्टी एकता गर्न नसकिने बताएपछि अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठ फायर भएका थिए । ‘अब प्रचण्डजीसँग पार्टी एकता गर्न सकिँदैन । किनभने उहाँ जालझेल गर्न माहिर मान्छे हो’ ,-बैठकमा डा.भट्टराईले भनेका थिए-‘साच्चै भन्ने हो भने प्रचण्डले एकता पनि चाहनुभएको छैन।’
डा.भट्टराईको यो भनाइमा प्रतिवाद गर्दै अर्का अध्यक्ष महिन्द्रराय यादवले भने जुनसुकै हालतमा पनि पार्टी एकता गर्नुपर्ने धारणा राखेका थिए ।बैठकमा अध्यक्ष यादवले ‘एकता गर्ने निर्णयबाट पछि हट्न सकिँदैन । यदि सहमतिमै एकता नगर्ने भए सहमतिमै हामी छुट्टयौं’ समेत भनेका थिए।
हाल नेसपाको २४ सदस्यीय कार्यकारिणी समितिमा डा.भट्टराई र यादवको पक्षमा आधा आधा सदस्य रहेका छन् ।डा.भट्टराईको पक्षमा १४ र यादवको पक्षमा १० जना कार्यकारीणी सदस्य रहेकोमा डा.भट्टराईको पक्षमा रहेका गङ्गानारायण श्रेष्ठ र वन्दना सुवेदीले भट्टराईलाई धोका दिएर महेन्द्रलाई साथ दिएपछी बराबरको अवस्था आएको हो।
डा.बाबुराम भट्टराईको पक्षमा उनीसहित हिसिला यमी, भक्तबहादुर शाही,दुर्गा सोव, मानुषी यमी, जनक शाह, भरत दाहाल, ईश्वर रिजाल, घमानसिंह गुरु, सोनामसिंह स्याङ्तान लगायत छन् ।
यसैगरी यादवको पक्षमा उनीसहित गङगानारायण श्रेष्ठ, गोविन्द चौधरी, रमेश यादव, देवेन्द्र यादव, सवनम खातुन, सलमा खातुन, वन्दना सुवेदी लगायत छन् ।

