थ्रीस्टारलाई रोक्दै पहिलो उपाधि जित्ने सोचमा आर्मी
प्रतिक भट्ट
पोखरा, २० माघ । पोखरामा जारी २३औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि ए डिभिजन का दुई परिचित प्रतिद्वन्दी थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल दिउँसो साढे २ बजेदेखि पोखरा रङ्गशालामा सुरु हुने छ ।
सेमिफाइनलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई तथा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनलमा स्थान बनाएका थिए । थ्रीस्टार छैंटौं उपाधि जित्ने होडमा छ भने आर्मी पहिलो उपाधि जित्ने सोचमा हुने छ ।
आर्मी प्रतियोगितामा यसअघि चारपटक फाइनलमा पुगेको भएपनि उपाधि जित्न सकेको छैन । २०६५ र २०६६ सालको फाइनलमा आर्मी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । त्यस्तै २०७२ सालमा मनाङ मर्स्याङ्दी क्लबसँग स्तब्ध बन्दा २०७५ मा थ्रीस्टारले आर्मीलाई स्तब्ध पार्यो ।
थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा गरी पाँचपटक उपाधि जितेको छ । ६ पटक फाइनल खेलेको थ्रीस्टार २०७४ सालमा उपविजेतामा सीमित भएको थियो भने त्यसको अर्को वर्ष उपाधि नै जितेको थियो । थ्रीस्टार सर्वाधिक ६ पटक उपाधि जित्ने नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबको रेकर्ड बराबरी गर्न चाहन्छ ।
सहारा क्लब पोखराको आयोजनामा २०५८ सालदेखि क्याराभान गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिता त्यसयता आहा गोल्डकप तथा त्यसपछि आहा ! रारा गोल्डकपको नामले परिचित हुँदै आएको थियो । गत वर्षदेखि भने यसलाई आहा ! रारा पोखरा गोल्डकप नामाकरण गरिएको थियो ।

