त्रिभुवन आर्मी क्लब आहा ! रारा गोल्डकपको फाइनलमा

पोखरा, १८ माघ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी २३औं आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले हराउँदै आर्मी उपाधिको नजिक पुगेको हो ।
आर्मीको जीतमा दिनेश हेन्जन र रशबहादुर मगरले १-१ गोल गरे । चर्च ब्वाइजका समिर तामाङले गरेको गोल खेललाई अतिरिक्त समयमा धकेल्न मात्र पर्याप्त रह्यो । निर्धारित ९० मिनेटमा १-१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा गएको खेलमा आर्मीले गोल गर्दै जीत निकाल्न सफल भयो ।
आर्मीले खेलको ६१औं मिनेटमा हेन्जनको गोलमार्फत अग्रता लिएको थियो । करिब ३० यार्ड टाढाबाट हेन्जनले गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो । हेन्जनले प्रतियोगितामा चार गोल गरिसकेका छन् ।
खेलको निर्धारित समय सकिनुभन्दा ५ मिनेट अगाडि चर्च ब्वाइजले बराबरी गोल गर्यो । समिर तामाङले जारी प्रतियोगिताको दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि थप गोल नहुँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको ९९औं मिनेटमा आर्मीले फेरि अग्रता लियो । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए । त्यसपछि चर्च ब्वाइज खेलमा फर्कन सकेन र सेमिफाइनलबाट नै उसको यात्रा टुङ्गिदा आर्मी भने उपाधिको नजिक पुग्न सफल भयो ।
आर्मीले अब उपाधिका लागि थ्रीस्टार क्लबसँग खेल्ने छ । फाइनल खेल शनिबार पोखरा रङ्गशालामा हुनेछ ।

