आहा ! रारा पोखरा गोल्डकप: दोस्रो सेमिफाइनलमा आर्मी र चर्च ब्वाइज खेल्दै

पोखरा, १८ माघ । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल समीकरण आज पूरा हुँदै छ । दोस्रो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदै छन् । खेल दिउँसो साढे २ बजेदेखि पोखरा रङ्गशालामा सुरु हुने छ ।
आर्मीले क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो भने चर्च ब्वाइजले नेपाल पुलिसलाई १-० ले स्तब्ध पार्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
सेमिफाइनल खेलको विजेताले उपाधिका लागि पाँचपटकको च्याम्पियन थ्रीस्टार क्लबसँग खेल्ने छ । थ्रीस्टारले बुधबार जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुने छ ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ तथा उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

