आरजु देउवा उपप्रधान एवं परराष्ट्रमन्त्री बन्ने !
रामहरि खतिवडा, बद्री पाण्डे, चन्द्र भण्डारी, प्रदिप पौडेल र सन्तोष चालिसेको पनि चर्चा
काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमताको मुल्यांकनमा कमजोर अर्थात पछि परेका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाएर मन्त्रीपरिषद हेरफेर गर्ने तयारी गरेका छन् ।
एक महिना अगाडी नै प्रधानमन्त्रीको यो अभिव्यक्ति सार्वजनिक भएको र अब सत्ता साझेदार दलका शीर्ष नेताबीच छलफल गरेर सबैजसो मन्त्री परिवर्तन गर्ने मुडमा प्रधानमन्त्री प्रचण्ड पुगेको स्रोतको भनाइ छ। अबको मन्त्रीपरिषद हेरफेरमा नेपाली कांग्रेसबाट भने सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा उपप्रधान सहित मन्त्री बन्ने लगभग पक्का जस्तै छ।
नेपाली कांग्रेसको उच्च स्रोतका अनुसार हाल प्रतिनिधिसभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी नेतृ देउवा सरकारमा सहभागी हुने र उनले उपप्रधान सहित परराष्ट्र मन्त्रालय सम्हाल्ने गरि प्रधानमन्त्रीसंग कांग्रेस सभापति देउवाले छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सभापति देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग समेत छलफल सुरु गरेको निकट स्रोतले बतायो । यद्यपि सभापति देउवाले कांग्रेस महासमिति बैठक पछि मात्रै मन्त्री परिवर्तन गर्न सहमति दिएका छन् । उता समाजवादी भित्र पनि मन्त्री परिवर्तन गर्नुपर्नेमा नेता झलनाथ खनाल समुहको बढी जोड छ।
स्रोतले दिएको जानकारी अनुसार नेपाली कांग्रेसले हाल सरकारमा सहभागी ९ जना मध्य अधिकांश मन्त्री परिवर्तन गर्न सक्नेछ।तर,कम्तीमा ४ जना मन्त्री चाहिँ परिवर्तन हुने ग्यारेन्टी नै छ। कांग्रेसबाट मन्त्री बन्नेहरुको सूचीमा आरजुको नाम एक नम्बरमा लिन थालिएको छ भने डा.चन्द्र भण्डारी,महामन्त्री बिश्वप्रकाश शर्मा,सहमहामन्त्री बद्री पाण्डे,रमेश लेखक,रामहरि खतिवडा,प्रदिप पौडेल,सन्तोष चालिसे,राजन केसीको नाम पनि चर्चामा छ।
कांग्रेसका मन्त्री मध्य स्वास्थमन्त्री मोहनबहादुर बस्नेत,परराष्ट्र मन्त्री एनपी साउद,अर्थमन्त्री प्रकाश शरण महत, युवा तथा खेलकूद मन्त्री डिग बहादुर लिम्वू र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई फिर्ता बोलाउन सभापति देउवा लगभग टुंगोमा पुगिसकेका छन् । उनीहरुको कामप्रति प्रधानमन्त्री प्रचण्ड समेत सन्तुष्ट छैनन् ।
यसैगरी माओवादीबाट मन्त्री भएका मध्य उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहित उर्जामन्त्री शक्ति बस्नेत,पर्यटन मन्त्री सुदन किराँती र खानेपानी मन्त्री महेन्द्र राय यादव रेड जोनमा छन् ।उनीहरुलाई फिर्ता बोलाएर बर्षमान पुन,जनार्दन शर्मा,हितबहादुर तामाङ,माधव सापकोटा,लेखनाथ दाहाल (राजन),पुर्णबहादुर घर्ती मध्यबाट मन्त्री बनाउने चर्चा छ।

