मनाङ पहिलो खेलबाटै बाहिरियो, जावलाखेल सेमिफाइनलमा

काठमाडौं, १५ माघ । जावलाखेल युथ क्लब पोखरामा जारी २३औं आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई सडेन डेथमा ७-६ ले हराउँदै जावलाखेल अन्तिम चारमा पुगेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४-४ को बराबरीपछि भएको सडेन डेथमा ७-६ ले मनाङ पराजित भयो । मनाङका रनदिप पौडेलले अन्तिम पेनाल्टी मिस गरेका थिए ।
त्यसअघि जावलाखेलका लागि हिसुब थपलियाले खेलको ५५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सुदिप श्रेष्ठले दिएको पासमा हिसुबले पेनाल्टी क्षेत्रबाट गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
खेलको निर्धारित समय सकिनै लाग्दा राजेश परियारले गोल गरेपछि मनाङ खेलमा फर्कियो । राजेशले बाँयाबाट गरेको क्रस सिधै गोलमा परिणत भएको थियो । त्यही गोलका कारण खेल अतिरिक्त समयमा धकेलियो ।
जावलाखेलले अब फाइनल प्रवेशका लागि थ्रीस्टार क्लबसँग खेल्ने छ । भोलि अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड बीच प्रतिस्पर्धा हुने छ ।

