अफगानिस्तानलाई हराउँदै नेपाल ‘सुपर सिक्स’मा
आकाशो पाँच विकेट, देवको अर्धशतक, एक विकेटको जीत
काठमाडौं, १२ माघ । नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । शुक्रबार भएको समुह चरणको अन्तिम तथा निर्णायक खेलमा अफगानिस्तानमाथि १ विकेटको जीत निकाल्दै नेपाल अगाडि बढेको हो ।
नेपालको जीतमा तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिए भने ब्याटिङतर्फ कप्तान देव खनालले अर्धशतकीय पारी खेले । अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेल्दै जीतको आधार तय गरे । दिपक बोहराले २७ रन बनाए । त्यसअघि सुरुवातमा नेपालले सस्तैमा ३ विकेट गुमाएको थियो । ओपनर अर्जुन कुमाल १०, गुलशन झालाई १ र विपिन रावल २ रनमा आउट भएपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो ।
चौथो विकेटका लागि देव र आकाश त्रिपाठीले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर नासिर खानले आकाशलाई १६ रनमा आउट गर्दै उक्त साझेदारी तोडेका थिए ।
नेपाललाई जितको लागि ६ रन चाहिँदा २ विकेट बाँकी थियो । त्यसपछि आकाश चन्द १ रनमा आउट भएसँगै नेपाललाई १ विकेट बाँकी छँदा २ रन आवश्यक थियो । एक रन वाइड तथा विजयी रन सुवास भण्डारीले प्रहार गरे ।
अफगानिस्तानका फरिदुन दावुड्जाईले ४.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । खलिल अहमद र नासिर खानले २-२ विकेट लिए । अरब गुल र घजान्फरले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो । अफगानिस्तानका स्पिन अलराउन्डर मोहम्मद अल्लाह घजान्फरले २१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाएका थिए ।
कुनै समय ८८-८ को अवस्थामा पुगेको अफगानिस्तानका लागि फरिदुन र कप्तान नासिर खानले ५५ रनको साझेदारी गर्दै इनिङ उकासे । नासिर खानले सम्हालिएर ८३ बल खेल्दै ३१ रन बनाए ।
नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए । सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए । तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए ।
नेपालले अब सुपर सिक्समा अंकविहीन रहँदै समूह ए को शीर्ष र दोस्रो स्थानको टोलीसँग खेल्नेछ ।

