फागुन १ गतेदेखि के गर्ने सुरसारमा छन् दुर्गा प्रसाईं ?

काठमाडौं, १० माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरेका छन् ।
गएको मंसिरमा काठमाडौंमा समेत ठुलो संख्यामा मानिसहरु भेला गरेर र्याली निकालेको भएपनि केही दिनपश्चा्त उनको आन्दोलन निस्क्रिय बनेको थियो । तर अब उनले फेरि बैङ्क तथा वित्तीय संस्थाको कारण जनता मर्ने वातावरणबाट बचाउनको लागि भन्दै अभियान नै दाबी गरेका छन् । यद्यपि उनले ठ्याक्कै यही किसिमको अभियान हो भन्नेबारे भने खुलाएका छैनन् ।
मङ्गलबार बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै पनि उनले अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै अब व्यवस्था परिवर्तन गर्न आन्दोलन गर्ने र बैंकमा रहेको जनताका घर जग्गाको लालपुर्जा फिर्ता गराउने समेत बताए ।
देशको हालत बिग्रनुमा ठुला दलको हात रहेको आरोप लगाउँदै उनले अहिले मुलुक प्रदेशमा गए पनि उनीहरूले साविक अञ्चललाई नै मान्नु पर्ने भन्दै अञ्चलस्तरीय कार्यक्रम बुटवलमा गरेको जनाए ।
‘सत्य कुरा जहिले पनि तितो नै हुन्छ, सत्यको पछि लाग्न यहाँहरुलाई मेरो आग्रह छ’, उनले भने, ‘अब देशलाई माफियाबाट मुक्त पार्नुपर्छ’ ।

