किन हुँदैछ नेपाली चलचित्रको ‘बिजोग’

काठमाडौं, १० माघ । नेपाली फिल्म क्षेत्रमा २०८० को सुरुवातदेखि नै त्यति धेरै आशा देखिएन । पुस महिना सम्म आइपुग्दा केही नाम चलेका ब्यानरमा निर्माण भएका र स्थापित निर्देशक तथा लोकप्रीय कलाकारका फिल्म बाहेक धेरैले लगानी उठाउन त के सुटिङ खर्च समेत उठाउन सकेनन् । यो ९ महिनामा कतिपय चलचित्र त कहिले रिलिज भए र हलमा कति दिन चले भन्ने समेत सम्झना भएन।
पछिल्लो समयलाई हेर्ने हो भने पुसमा तीन हप्तासम्म फिल्म रिलिज नै हुन सकेन । जाडो मौसममा हलसम्म दर्शक नआउने हुन् कि भन्ने डरले पनि हुनसक्छ पुस महिनाको चौथो शुक्रबार जम्मा दुई फिल्म ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आयो । तर दुवै फिल्मले राम्रो व्यवसाय गर्न सकेनन् । पर्खी बसेँ तिमीलाई’ थुप्रै हिट फिल्म दिएका निर्देशक दीपक श्रेष्ठ निर्देशन गरेका हुन् भने ‘चित्रा’ निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म हो।
प्रेमकथामा बनेको पर्खी बसे तिमिलाईमा नयाँ कलाकार किरण श्रेष्ठ र रक्षा बुढाथोकीको मुख्य भूमिका थियो । तर, फिल्ममा शिव श्रेष्ठ,विल्सन बिक्रम राई लगायत कलाकार पनि थिए तर फिल्म र कलाकार दुबै चलेनन् ।त्यस्तै फिल्म ‘चित्रा’ पनि हलमा लागेको र उत्रेको पत्तो नै भएन। बाबुछोरीको कथामा निर्माण भएको र आशा गरिएको चलचित्र भएर पनि यसले ब्यापार गरेन।
प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे जस्ता भेट्रान कलाकार भएर पनि चित्राले कुनै बिचित्र क्षमता देखाउन सकेन। २०८० को सुरुमा बैशाख र जेठमा नेपाली फिल्मले राम्रो ब्यापार गरेपनी असार र साउन सुस्त रहेको थियो। तर,भदौ महिनामा भने नेपाली फिल्मले ‘उधुम’ मच्चाउन सफल भयो भनौं ।
भदौमा रिलिज भएका केही चलचित्रले राम्रो ब्यापार गरेपनी असोज लागेपछि भने ब्यापार ह्वात्तै घट्यो। असोज महिनामा ‘वानर सेना र परदेशी २’ मात्र रिलिजमा आएका थिए ।वानरसेनाको कुनै चमत्कार भएन तर,परदेशी २ ले राम्रो ब्यापार गर्यो। त्यस लगत्तै कार्तिकमा दशैं र तिहार जस्ता ठूला पर्व भएर पनि जम्मा २ फिल्म मात्रै रिलिज भयो। तर, दुबै चलचित्रको ब्यापार उत्कृष्ट भयो। खगेन्द्र लामिछानेको लगानीमा दिपेन्द्र के.खनालले निर्देशन गरेको ‘पशुपति प्रसाद २ र खगेन्द्र लामिछाने अभिनित निश्चल बस्नेतले निर्देशन गरेको ‘दिमाग खराब’ दुई चलचित्र रिलिज भए र दुबैले कमाए।
तर,मंसिर महिनामा फिल्म रिलिजको सेड्यूल थियो तर,रिलिज भएनन् जुन रिलिज भयो त्यो पनि कमजोर सावित भयो । मंसिर महिनाको अन्तिममा रिलिज भएको चलचित्र ‘दुई कदम’ले दुई कौडीको पनि ब्यापार गरेन। सुनिल थापा,गौरव पहारी सहित नयाँ कलाकार लिएर निर्माण गरिएको चलचित्र कति दिन चल्यो भन्ने समेत कुनै अत्तोपत्तो नै भएन ।
यसैगरी अब माघमा भने अहिलेसम्म ४ वटा फिल्म रिलिज हुने सेड्युल छ। तर,पहिलो र दोस्रो साता कुनै रिलिज नहुने भएपनी माघको १९ गते ‘नम्बरी सुन’ रिलिज हुनेछ । त्यसैगरी माघको २६ गते दयाहाङ राई कै दुई फिल्म ‘हात्तीछाप र दयारानी रिलिज हुनेछ। त्यसैदिन अर्को चलचित्र ‘हनी बनी’ पनि रिलिजको तयारीमा छ।
फागुन महिनामा पनि अहिलेसम्म ३ वटा फिल्म रिलिज हुने देखिएको छ । फागुणको २५ गते रेखा थापाको ‘उपहार, दयाहाङको रंगेली र नवल खड्काको काँडेतार, रिलिज हुनेछन् । संभवत त्यसैदिन चलचित्र ‘अगस्त्य’को पनि रिलिज हुनेछ।
चैत्र महिनामा कोही पनि निर्माता चलचित्र रिलिज गर्न तम्सिएका छैनन्।तर,अहिलेसम्मको जानकारी अनुसार रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ र सफल निर्देशक प्रदिप भट्टराई निर्देशित बहुचर्चित चलचित्र जात्राको सिक्वेल ‘महाजात्रा’ रिलिजको तयारी छ।महाजात्रा चैत्रको ९ गतेबाट र ‘डिग्री माइला’ चैत अन्तिम साता रिलिज हुनेछ ।

