आन्तरिक पर्यटकको आकर्षण बन्दै ‘चेप्टी’

जेबी चाम्लिङ राई

नेपालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने थुप्रै ऐतिहासिक,धार्मिक र मानव निर्मित पर्यटकीय क्षेत्रको बिकास र बिस्तार हुँदै गएको छ।

यसै मध्यको एउटा आकर्षक पर्यटकीय क्षेत्र हो इलामको ‘चेप्टी’। नेपालको सुदुर पुर्वमा रहेको झापा र इलामको संगम स्थल चुरे पहाडसंगै रहेको यो मानव निर्मित हेप्पी ड्रीम्स चेप्टी प्रालीमा अहिले आन्तरिक पर्यटकको आवतजावत बाक्लिएको छ।

इलाम जिल्लाको फेदी र झापाको माथिल्लो भाग बिचमा पर्ने माइ नगरपालिका-२ मा रहेको यो चेप्टी पर्यटकिय स्थल पहाडको फेदीमा रहेको एउटा गाऊ बस्तीको नजिक छ।गएको ५ बर्षदेखी यहाँको पर्यटकीय केन्द्रको रुपमा चिनिएको चेप्टी पुग्न झापा जिल्लाको सुरुङ्गा हुदै ४५ कि.मी भित्री सडक पार गर्नुपर्छ।

अर्कोतिर विर्तामोडदेखी उत्तर अर्जुनधारा हुँदै सुखानी जंगल पार गरेर पनि जान सकिन्छ। सुखानी जंगललाई पन्चायतकालमा सो ब्यबस्था विरुद्ध आवाज उठाउने ५ जना क्रान्तिकारी नेताकार्यकर्ता मारेको ठाउँ भनेर पनि चिनिन्छ । सुखानी जंगलदेखि थप १२ किमि हिडेपछी पनि चेप्टी पुगिन्छ।

झापा र इलामको मनोरम दृश्यलाई हेर्दै माइखोला किनारको समथर भू-भागमा रहेको रमणीय स्थल चेप्टी पुगेपछि प्रतिब्यक्ती २०० रुपैयाँ प्रवेश शुल्क तिरेर भित्र पस्न पाइन्छ। जब भित्र पुगेपछि त्यहाँ निर्माण भएका अनेकौं संरचना देखेपछि मन प्रफुल्ल भैहाल्छ। विशाल जंगल, चुरेको पहरा, झरना, खोला, विभिन्न प्रकारका फूलहुरु, सुन्दर बगैचा र घुम्न आउनेलाई थकाइ मारेर बस्नको लागि बीचबीचमा राखिएको कुर्सी एवं रंगीविरंगी प्राकृतिक फुल,बिरुवा र धुपी सल्ला देखेपछि जो कोहिलाई लोभ्याइहाल्छ।

पार्क भित्रको सुन्दर तालमा डुंगामा सयर गर्न पाइने तथा वारपार गर्ने पूल र वालवालिकालाई खेल्न छुट्टै खेल सामाग्री सहित किर्तिम भएपनी सगरमाथाको चुचुरा जस्तो स्वेत पहाड निमार्ण गरिएको छ। त्यसैगरी पानीजहाज र हवाईजहाज एवं हेलिकप्टरको निर्माण समेत गरिएको छ।

यसैगरी बालबालिकालाई थप मनोरंजन हुनेगरी विभिन्न आकृतिका चित्रकलाबाट बनाइएका डाइनोसर,गैंडा, बाघ, कस्तुरी, मृग, सुन्दर डाफेचरी, विभिन्न प्रकारका सुन्दर (स्टाच्यु) मूर्तिहरु समेत बनाइएको छ। यहाको मनोरम दृश्य र प्राकृतिक शुन्दरता हेर्न भारत पश्चिम बङ्गाल, दार्जिलिङ,सिक्किमदेखि नेपालका प्रायः सबै ठाउँबाट पर्यटकहरु आउने गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय