मौलिक खाना र संस्कृतिको प्रवर्द्धनमा रमाउँदै पर्यटन मन्त्री

काठमाण्डौं,५ माघ। माघ १ देखि काठमाडौ बुढानिलकण्ठ-१० कपनमा सुरुभएको ‘मौलिक उत्पादन र चौरासी व्यञ्जन’ मेलामा सहभागी हुनेको संख्या दैनिक बढेको छ। मेलामा सरकारका मन्त्रीदेखि विभिन्न निकायका उच्चपदस्थ ब्यक्तित्व र सरोकारवालाहरुको समेत आकर्षण थपिएको छ।
पछिल्लो पटक टेलिभिजन कार्यक्रम इन्द्रेणी टिम सहित पर्यटन मन्त्री सुदन किराँती समेत मेलामा पुगेका छन् ।मेलामा पुगेपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री किरातीले मौलिक खाना र संस्कृतिको प्रबर्द्धनमा आफू पनि जुट्ने भन्दै सबैलाई जुट्न आग्रह गरे।मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन) अवलोकन गरेपछि मन्त्री किरातीले भने,-‘अब छिट्टै पर्यटन ऐन ल्याउने र ऐनमा सबै ठुला होटलले अनिवार्य नेपाली मौलिक मेनु राख्नै पर्ने नियम बनाउने छौं ।’

सोही समयमा मन्त्री किरातीले नेपालमै उत्पादन गरिएका आफ्नो रैथाने खाना बेचेर र मौलिक संस्कृति देखाएर नै स्वदेश मै डलर कमाउन सकिने अवस्था मौलिक बजार तथा भान्छाघरको कामले पुष्टि गरेको समेत बताए।
मन्त्री भएपछि विदेश नजाने घोषणा समेत गरेका उनै मन्त्री किराती आफ्नो कार्यकालको १ वर्ष पुरा हुँदा सम्म कुनै देश नगएको बताउँछन् ।’म विदेश जान मन्त्री भएको होईन, काम गर्न र यस्तै मौलिक काम गर्नेलाई उत्साह थप्न मन्त्री भएको हुँ’-उनले भने,-‘नेपालमा नै बसेर केही गर्न चाहने युवाहरुका लागि खुलेर हौसल्ला दिन्छु र सरकार र ब्यक्तिगत रुपमा पनि सकेको सहयोग गर्छु।’
मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको मेलामा राष्ट्रिय लोक दोहीरी प्रतिष्ठानका अध्यक्ष सहित र इन्द्रेणी टिमलाई समेत मन्त्री किराँतीले समन्वय गरेर लिएर गएका थिए। सो क्रममा मन्त्री किरातीले नेपालको कला, संस्कृति र खाना विश्वमा नै नमुना भएकोले यसैलाई प्रबर्द्धन गरि विश्वसामु चिनाउन आवश्यक रहेको बताए।

मौलिक उत्पादन र परिकारको प्रवर्द्धनका लागि कृष्ण कडेल नेतृत्वमा इन्द्रेणी टिम सहित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रीता थापा, पुर्व अध्यक्ष तथा बरिष्ठ लोक दोहोरी गायक दुर्गा रायमाझी र प्रतिष्ठानका उपमहासचिव शिशिर आचार्य सो मेलामा पुगेका थिए। सोही अवसरमा मन्त्री किराँती सहित पुरै टिमले सांस्कृतिक कार्यक्रम सहित मनोरंजन दिलाएको थियो।
मौलिक बजार मौलिक भान्छाघरले अर्गानिक फार्म, पशुपन्छी फार्म, फार्मस्टे, एक स्थानीय तह, एक उत्पादन ब्रान्डिङ गर्न प्रशोधन तथा ब्रान्डिङ उद्योग, ७५३ वटै स्थानीय तहहरुमा खरिद बिक्री केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुरुप मौलिक बजार तथा मौलिक संग्राहालय साथै देशभित्रका मौलिक चाडपर्व, संस्कृति र रैथाने परिकारको प्रवर्द्धन गर्न ७ प्रदेश विशेष मौलिक परिकार तथा चौरासी व्यञ्जनको मेनु सहित मौलिक–भान्छाघर तथा सांस्कृतिक हल समेतको मौलिक परियोजना सञ्चालन गरिरहेको छ ।
मौलिक चाडपर्व, संस्कृति र मौलिक परिकारहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने मौलिक बजार तथा मौलिक भान्छाले यही माघ ७ गते सम्म मौलिक उत्पादन र चौरासी व्यञ्जन मेला आयोजना गरेको हो । कार्यक्रममा माघे संक्रान्ति तथा ७ प्रदेश विशेष परिकार र ८४ व्यञ्जनका साथै सांस्कृतिक कार्यक्रमको साथमा सातै प्रदेशका स्थानिय पालिकाको उत्पादनको स्टल र ४२ व्यञ्जनको बुफेट समेत राखिएको छ।


