वीरगञ्जका मेयर राजेशमान सिंहलाई पक्राउ गर्न दबाब

काठमाडौं, ५ माघ । पर्साको बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै केही ब्यक्ति काठमाडौ आइपुगेका छन् ।
मेयर सिंहले ९ बर्ष अघि अरुकै सन्तानलाई आफ्नो भनी पर्साबाट नागरिकता दिलाएको भन्दै स्थानीय महम्मद सशाबुदिन, अनिल सिंह, अजयकुमार गुप्ता, विजय महतो, मुकेश द्धिवेदी, पुरुषोत्तम झा, दिलिप कुमार कुर्मी, जलेश्वर सर्राफ, मनोज राउत कुर्मीले यस्तो माग गरेका हुन् ।
उनीहरुले सामुहिक पत्रकार सम्मेलन गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई तत्काल पदबाट निलम्बन गर्न समेत माग गरेका छन् । सिंहले आजभन्दा ९ वर्षअघि काठमाडौंमा जन्मिएकी (बाबु र आमाको नाम सम्झना नभएको) एक जना भट्टराई थर भएको दम्पत्तिको छोरीलाई आफ्नो छोरी भनी निजको नाम रुबीना श्रेष्ठ राखी नागरिकता बनाईदिएको दाबी गरेका छन् ।
उता मेयर राजेशमान सिंहको भने एकमात्र छोरा रहेको उनीहरुको भनाइ छ।उनीहरुकाअनुसार निजको जन्म मिति २०५९ असार ३० गते राखी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को कार्यालयबाट २०७१ साल कार्तिक २० गते जन्मदर्ताको झुठो प्रमाणपत्र बनाउन लगाएको देखिएको छ । यसमा पैसाको ठूलो चलखेल भएको हुनसक्ने र यसरी झुठो जन्मदर्ता बनाई सोही झुठो जन्मदर्ताको आधारमा जिल्ला प्रशासन कार्यालयमा अर्काकी छोरीलाई आफ्नो छोरी हो भनेर झुठो विवरण पेश गरेर २०७५ साउन १३ गते रुबीना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरको नागरिकता बनाउन सफल भएको आरोप समेत लगाएको छ ।
मेयर राजेशले गरेको काम नागरिकता ऐनको र राहदानी ऐनले गरेको व्यवस्थाविपरितको कार्य भएको र सो कार्य अपराधिक कार्य भएकोले अपराध गर्ने अपराधीलाई अविलम्ब पक्राउ गरी पदबाट निलम्बन प्रक्रिया अघि बढाउन उजुरीकर्ताहरुको माग छ । उनीहरुले आफूहरुले अघि सारेको माग पूरा नभए थप आन्दोलन गर्न बाध्य हुनेपनि चेतावनी दिएका छन् ।
विपक्षी रुबीनाले सोही नागरिकता प्रयोग गरेर २०७९ साउन २४ गते राहदानीसमेत लिएकी छिन् । उनले लिएको राहदानी नम्बर भने ११०३९६१७ रहेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

