यु-१९ क्रिकेट विश्वकप आजदेखि सुरु, नेपालको खेल आइतबार

काठमाडौं, ५ माघ । आइसीसी यू–१९ क्रिकेट विश्वकपको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । नेपालसहित १६ टिम सहभागी प्रतियोगिताको पहिलो दिन शुक्रबार दुई खेल हुँदै छन् ।
प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । दुवै खेल दिउँसो पौने २ बजेदेखि सुरु हुने छ ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तानसँग परेको छ । पाकिस्तान र अफगानिस्तानसँग नेपाल अघिल्लो महिना एसिया कपमा पनि खेलिसकेको छ ।
विश्वकपमा नेपालले आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
प्रतियोगिता सुरुमा श्रीलंकामा हुने तय भएपनि श्रीलंकाको क्रिकेट बोर्ड निलम्बनमा परेसँगै दक्षिण अफ्रिकामा सारिएको थियो ।

