जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी

काठमाडौ,३माघ। सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।लामिछाने हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधि सभा सदस्य छन् ।
सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

उजुरीमा अगाडि भनिएको छ-‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’

