यति एयरलाइन्स दुर्घटनाको एक वर्ष पूरा
मानवीय त्रुटिका कारण दुर्घटना- छानविन समिति
काठमाडौं, १ माघ । पोखरामा ७२ जनाको ज्यान जाने गरी भएको यति एयरलाइन्सको विमान दुर्घटना भएको आज एक वर्ष पुरा भएको छ । गत वर्ष माघ १ अर्थात् माघे संक्रान्तिकै दिन काठमाडौंबाट उडेको विमान पोखरा विमानस्थलमा अवतरण गर्नुभन्दा केही क्षणअघि दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी विमानमा सवार चालक दलका चार सदस्य सहित ७२ जनाकै ज्यान गएको थियो । विमान वरिष्ठ पाइलट कमल केसीले उडाएका थिए भने को पाइलट अन्जु खतिवडा थिइन् ।
उक्त दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ। गत वर्ष माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले केही साताअघि आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको हो।
पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब नौ महिनामा तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरेको थियो।

