नारायणगढ-मुग्लिङ सडक थप तीन साताका लागि दैनिक चार घण्टा बन्द हुने
माघे सङ्क्रान्तिका दिन भने खुल्ला रहने
चितवन, २७ पुस । नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द हुने भएको छ । सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल बनाउने कार्यका लागि पहाड काट्नुपर्ने भएकाले गत पुस ७ गतेदेखि २८ गतेसम्म तीन साताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।
तर तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।
अब माघ २० गतेसम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने जनाइएको छ । माघ १ अर्थात् माघे सङ्क्रान्तिका दिन भने देवघाट आउनेजाने तीर्थयात्रीको सहजताका लागि उक्त दिन सडकखण्डको काम नगरी खुल्लै रहने समेत जनाइएको छ ।

