बमजनले भने: मैले कुनै अपराध गरेको छैन

काठमाडौं, २५ पुस । मङ्गलबार पक्राउ परेका तपस्वी रामबहादुर बमजनले आफूले कुनै किसिमको अपराध नगरेको बताएका छन् । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेका हुन् ।
‘यो सबै मलाई फसाउनका लागि, माइनस गर्नका लागि गरिएको डिजाइन हो। यसमा मान्छेहरू प्रयोग गरेर मलाई माइनस गर्न खोजिएको हो’, उनले सीआईबीका अधिकारीसँगको बयानमा भने, ‘मैले यी कुनै पनि अपराध गरेको छैन। मान्छे बेपत्ता बनाएको छैन। बलात्कार जस्ता कुनै पनि अपराध गरेको छैन।’
बम्जनले आफू योग, ध्यान र साधनामा लागेकाले यस्ता अपराध गर्न सम्भव नै नहुने पनि बताए। ‘म त साधना, ध्यान गर्छु। लेख्ने काम मात्रै गर्छु’, उनले भने, ‘यतिन्जेलसम्म म ध्यानमै थिएँ। कहीँ भागेको पनि छैन। आश्रममै लेख्ने र साधना गर्ने काममा लागिरहेँ।’
बमजनलाई मंगलबार राति काठमाडौंको हात्तीगौंडास्थित घरबाटै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

