राष्ट्रिय सभामा एमालेले भाग खोजेपछि गठबन्धनमा ‘झमेला’

काठमाडौं, २० पुस । राष्ट्रिय सभामा शुन्य हुन नचाहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री मार्फत ‘महागठबन्धन’को प्रस्ताव अगाडी ल्याएपछि सत्ता गठबन्धनमा ‘झमेला’ आइलागेको छ।
आगामी फागुन २० देखि रिक्त हुने १९ सिटमा माघ ११ गते चुनाव हुँदैछ। जसमा नेकपा एमालेले गठबन्धनको साथ नपाउने हो भने शुन्य हुने स्थिति छ। सबै प्रदेशमा गठबन्धनको मतभार बहुमत रहेकोले एमाले सत्ता गठबन्धनलाई फकाएर केही सिट लिने दाउमा छ। तर,एमालेको प्रवेशले गठबन्धन भित्रका साना दल भने झस्केका छन् ।
गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा),नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले एमालेको प्रस्तावलाई शंकाको रुपमा लिएको छ। एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डलाई भेटघाट गरेपछि समाजवादीका अध्यक्ष माधव कुमार नेपालले त्यसमा असहमति प्रकट गरेका छन् ।
रिक्त हुने १९ सिट मध्य एमालेका ९ जना छन् । त्यसैलाई भागबन्डा गर्न तम्सिएका जसपा,नेकपा एस र नागरिक उन्मुक्ति पार्टीले एमाले गठबन्धन भित्र पसेर ‘महागठबन्धन’ बनेपछि आफ्नो सिट गुम्ने खतरा देखेका छन् ।यद्यपि प्रधानमन्त्री प्रचण्डले एमालेलाई सिट दिन लचक रहेको बताइसकेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत एमालेलाई भागबन्डामा सहभागी गराउन सकारात्मक छन् ।तर,कांग्रेस भित्रकै डा.शेखर कोइराला समुहले भने एमालेलाई सिट दिदा आफ्नो समुहको सिट गुम्ने खतरा रहेको भन्दै आन्तरिक रुपमा असहमति देखाएको छ।
सत्ता गठबन्धन भित्र अहिले दुई धार देखिनु एमालेका लागि भने सुखद अवस्था देखिएको छ। गठबन्धन टुटाउन एमालेले राष्ट्रिय सभामा भाग खोज्नु वा जनयुद्ध कालिन घटना र बर्तमानमा भैरहेका घटना निरुपणमा सघाउन साथ दिन्छु भन्ने ‘बार्गेनिङ’ एमालेले गरिरहेको छ।
यदि सत्ता गठबन्धनमा एमाले मिसिएर महागठबन्धन बनेमा एमालेले ४ वा ५ सिट राष्ट्रिय सभामा पाउने छ। यद्यपि एमालेले कम्तीमा ६ सिट मागेको छ। यसरी भागबन्डा गर्दा नेपाली कांग्रेस ७ र माओवादी केन्द्र ४ सिटमा सिमित हुनेछन् । एमालेले ६ पाएमा गठबन्धनको भाग अझै घट्न सक्छ। उता गठबन्धनमै रहेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि १/१ सिट दाबी गरेका छन् । तर,स्रोतका अनुसार प्रधानमन्त्री सहित कांग्रेस र एमाले नेतृत्व भने साना दललाई त्यो सिट दिन चाहदैनन् ।

