२०८१ को बडादसैं छिटो !

काठमाडौं, १६ पुस । आगामी वर्ष २०८१ सालको दसैँ डेढ हप्ता छिटो हुने भएको छ । अर्थात २०८१ मा दसैं असोज दोस्रो साता परेको छ । यस वर्षको दसैँ कात्तिकमा परेको थियो भने आउँदो वर्षको दसैं असोजमै सकिने छ । २०८१ को तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ । २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ । यद्यपि समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन ।
विजयादशमी २६ गते परेको छ । असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ । विकास समितिले गरेको निर्णयअनुसार कार्तिक १२ गतेबाट तिहार शुरू हुनेछ ।
कार्तिक १२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रवार औशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।

