आज तमु ल्होसार मनाइँदै, सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं, १५ पुस । गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै आएका छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ। तमु ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। यही भएर तमु ल्होसार पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागतको रुपमा पनि तमु ल्होसार मनाउने चलन छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको तमु संस्कृतिविदहरुको भनाई छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ।

जानकारहरुका अनुसार गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय